अत्यन्तै रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित
लोकेश बमको शतक छायाँमा !

काठमाडौँ । अत्यन्तै रोमाञ्चक तरिकाले भएको आयरल्याण्ड ‘ए’ तथा नेपाल ‘ए’बीचको खलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’टोली आयरल्यान्ड वुल्भ्ससँगको टी–२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको छ ।
आयरल्यान्डले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा २ सय १ रन बनाएर अलआउट हुन पुग्यो ।
चौथो विकेटका लागि ओपनर लोकेश बम र आरिफ शेखले १ सय २१ रनको शतकीय साझेदारी गरेर नेपालले जितको आधार खडा गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि हार भोग्नु प¥यो ।
५६ बलमा ९ चौका र ८ छक्का हानेका लोकेश १ सय ६ रन बनाउँदा क्याच आउट भए । नेपाल एक समय १५ दशमलव ६ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ को अवस्थामा थियो । त्यसपछि १७ दशमलव २ ओभरमा आरिफ शेख आउट भए । त्यतिखेर नेपाल ५ विकेटको क्षतिमा १९४ रनको अवस्थामा थियो । आयरल्यान्डलाई दिएको अतिरिक्त २१ रन पनि नेपालका लागि भारी प¥यो ।
तर त्यसपछिका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालले १८ औँ ओभरमा लगातार दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा आरिफलाई गुमाएको नेपालले अन्तिम बलमा किरण ठगुन्नालाई गुमाउन पुग्यो ।
आरिफ शेख अर्धशतक बनाउनबाट चुके । २६ बलमा १ चौका र ५ छक्का हानेका आरिफ ४९ रन बनाउँदा क्याच आउट भए । देव खनाल, रासिद खान, कमल ऐरी, हेमन्त धामी शून्यमा पेभेलियन फर्किए ।
कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट भए । देव खनाल शून्य र अर्जुन घर्ती ३ रनमा पेभेलियन फर्किए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो ।
दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।
२९ बलमा ४ चौका र १ छक्का हान्दै ३८ रन बनाएका केडलाई १० औँ ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेका थिए ।
अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुके। ३२ बलमा ४ चौका र ३ छक्का हानेका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट भए । गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहे ।
कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट भए । २३ बलमा १ चौका र ३ छक्का हानेका निकलाई कमलले नै पेभेलियनको बाटो देखाए ।
आयरल्यान्डले पहिले विकेटका रुपमा ओपनर रोस अडाएरलाई २ रनमा नै गुमाएको थियो । स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरिको बलमा सागर ढकालको हातबाट क्याच आउट भए ।
आयरल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका कमलले आफ्नो पहिलो ओभरमा नै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाएका थिए ।
सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमल ए टोलीमा स्थान बनाउँदै टोलीमा फर्किएका हुन् । नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । सागर ढकाल र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे ।
सिरिजको दोस्रो खेल भोलि शनिबार हुनेछ ।






