अयोध्यामा तिलकोत्सवको भव्य तयारी, जनकपुरबाट गएका अथितिका लागि लोभलाग्दो पकवानको व्यवस्था

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा तिलकोत्सवको भव्य तयारी गरिएको छ । राम जानकी विवाह महोत्सव अन्तर्गत भगवान रामको तिलकका लागि जनकपुरधामबाट अयोध्या प्रस्थान गरेको टोलीको भव्य स्वागत गरिने तयारी भएको छ ।

अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह २५१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अयोध्याका लागि प्रस्थान गरेका हुन् । अतिथिको भव्य स्वागतका लागि अयोध्यामा तयारी भएको छ ।

भोलि हुने तिलकोत्सव अन्तर्गत जनकपुरधामबाट अयोध्या पुगेको टोलीले भगवान रामको तिलक गर्नेछन् । दिउँसो २ बजे विधिविधानका अनुसार भगवान रामको तिलकोत्सवको आयोजना गरिने राम मन्दिर प्रशासनले जनाएको छ ।

६ डिसेम्बरमा हुने राम जानकी विवाह समारोह अघि तिलकोत्सवका लागि जनकपुरबाट गएका अतिथिलाई अयोध्यामा परम्परा अनुसार खानपानको व्यवस्था गरिएको छ । भगवान सिताको माइती जनकपुरबाट गएका अतिथिहरूको खानपानका लागि विशेष मेन्यू पनि तयार गरिएको छ । जसमा विभिन्न प्रकारका चाट (आलू टिक्की चाट, पापडी चाट, दहि भल्ले) लगायतका हुनेछन् भने छोला, भात, पुरी तरकारी, मिक्स तरकारी, पापड, रायता, मिठाई र हलुवा लगायत अन्य व्यञ्जन पनि हुनेछन् ।

भगवान श्रीरामको तिलकोत्सव रामसेवकपुरममा हुनेछ । जहाँ अतिथि र अन्य दर्शकको सङ्ख्यालाई ध्यानमा राखी व्यवस्था गरिँदैछ । तिलकका लागि तयार मञ्चमा रामको स्वरुपमा १८ वर्षीय एकजना युवकलाई पिठोले बनाइएको कुर्सीमाथि राखिने छ । तिलक समारोह पारम्परिक हुनेछ । जसमा चाहिने आवश्यक सामग्री परम्परा अनुसार जनकपुरबाट गएका तिलक टोलीले आफ्नो साथमा लगेका छन् । काँसको थाल, दुईवटा कचौरा, चम्मचसहित ५ वटा परम्परागत भाडाकुडा बाहेक उपहारमा दिनका लागि अन्य भाडाकुडा पनि रहने छ ।

त्यसबाहेक पहेँलो रंगको धोती, तौलिया, बेसारको डल्लो, चन्दन, धान, पहेँलो चामल, दुबो लगायतका सामग्री उपहार स्वरुप दिइने छ । त्यस्तै चाँदीको सिक्का, अलैँची र सुपारी पनि दिइने छ । तिलक चढाउनका लागि जनकपुरबाट सिताको कान्छो भाइको भूमिका जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले निर्वाह गर्नेछन् ।

तिलकोत्सव पछि २६ नोभेम्बरमा अयोध्याबाट जन्ती जनकपरका लागि प्रस्थान गर्नेछन।

प्रतिक्रिया
    ट्याग: