यस्ता छन् रामजानकीको वैवाहिक कार्यक्रम

जनकपुरधाम । जानकी मन्दिर प्रशासनले यही मङ्सिर २१ गते आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको वैवाहिक कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक गरिएको वैवाहिक कार्यक्रम अनुसार मङ्सिर १६ गते नगर दर्शन गराइने छ भने १७ गते फूलवारी लीला हुनेछ । त्यस्तै मङ्सिर १८ गते धनुष यज्ञ हुनेछ । भारतको अयोध्याबाट आएको जन्तीको रङ्गभूमि मैदानमा भव्य स्वागत पछि धनुष यज्ञको आयोजना गरिने बताइएको छ ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार १९ गते राम मन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ भने २० गते मटकोरको आयोजना हुनेछ ।
उनले २१ ग्ते स्वयंवर तथा शुभ विवाह कार्यक्रम हुने भन्दै २२ गते राम कलेवा अर्थात् जन्तीलाई प्रसाद र कोसेलीसहित विदाई गरिने बताए ।

साथै विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्ययोजनाबद्ध रुपमा सुरु भइसकेको पनि उनले बताए ।






