विवाहपञ्चमी अन्तर्गत आज फूलबारी लीला

जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमी अन्तर्गत आज फूलबारी लीला हुने भएको छ ।

जानकी मन्दिरमा रहेको विवाह मण्डपको बगैंचामा फूलबारी लीला हुनेछ। सिता आफ्ना साथीसँग फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा फूलबारी लीला दर्शन मनाउने गरिन्छ।

जानकी मन्दिरबाट बालबालिकालाई माता सिता र भगवान रामको पहिरन तथा साजसज्जामा विवाह मण्डपको बगैंचामा लगेर फूलबारी लीला दर्शन मनाइने छ । फूलबारीमा राम र सीताबीच भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला दर्शन भनिन्छ।

भारत आयोध्याका राजा दशरथका छोरा भगवान श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ।

यसअघि आइतवार नगर दर्शन गराइएको थियो भने भोलि धनुष यज्ञको आयोजन गरिने छ । जस अन्तगर्त भारतको अयोध्याबाट आएको जन्तीको रङ्गभूमि मैदानमा भव्य स्वागत पछि धनुष यज्ञको आयोजना गरिने बताइएको छ ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार १९ गते राम मन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ भने २० गते मटकोरको आयोजना हुनेछ ।

उनले २१ ग्ते स्वयंवर तथा शुभ विवाह कार्यक्रम हुने भन्दै २२ गते राम कलेवा अर्थात् जन्तीलाई प्रसाद र कोसेलीसहित विदाई गरिने बताए ।

साथै विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्ययोजनाबद्ध रुपमा सुरु भइसकेको पनि उनले बताए ।

वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिविधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालुभक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ ।

महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन् । वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया