नागरिक समाज सञ्जाल गठन, संयोजकमा कायापलटका उप्रेती

जनकपुरधाम । नर्थ साउथ कलेक्टिभले आयाेजना गरेकाे एक कार्यक्रमबिच नागरिक समाज सञ्जाल गठन भएको छ। शुक्रबार जनकपुरधाममा आयोजित नागरिक समाज सञ्जाल गठन तथा अभिवृद्धि कार्यक्रममा कायापलटका संस्थापक दिवाकर उप्रेतीलाई सर्वसम्मत संयोजकमा चयन गरिएको हाे।

सञ्जालमा धनुषामा कार्यरत दश संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसमा उप्रेतीको नेतृत्वमा गठित ११ सदस्यीय समितिले धनुषा जिल्लामा महिला, युवा, र सिमान्तकृत समुदायको आवाज उठाउने उद्देश्यले विभिन्न मुद्दामा पैरवी र बहस आयोजना गर्ने निर्णय गरेको छ।

संयोजक उप्रेतीले सञ्जालले सामाजिक चिन्तन र आलोचनात्मक चेतनालाई प्रवर्द्धन गर्दै सरकार र नागरिक समाजबीच पुलको भूमिका खेल्ने बताए। उनका अनुसार सञ्जालले समुदायको चेतना अभिवृद्धि गर्न र जनस्तरका बहसलाई सरकारी नीतिसँग जोड्न प्रयास गर्नेछ।

नर्थ साउथ कलेक्टिभले यूएसएड सिएसएम कार्यक्रम अन्तर्गत मधेश प्रदेश र जिल्ला तहमा नागरिक समाजको सञ्जाल निर्माण गरिरहेको छ। आयाेजक सँस्थाका कार्यक्रम अधिकृत अजय साहले सञ्जालमार्फत सहकार्य र समन्वयका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको बताए।

सञ्जालले धनुषा जिल्लामा समुदायको आवाजलाई नीतिगत बहसमा रूपान्तरण गरी स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

को हुन् दिवाकर उप्रेती ?

दिवाकर उप्रेती कायापलट संस्थाका संस्थापक तथा लोकतन्त्र, सुशासन, र जलवायु न्यायका अध्येता हुन्। विगत एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय उप्रेतीले बाल क्लब र युवा क्लबको नेतृत्व गर्दै सामाजिक परिवर्तनका विविध अभियान सञ्चालन गरेका छन्।

उनी विभिन्न लूज नेटवर्कहरूसँग सहकार्य गर्दै खबरदारी कार्यक्रमहरूको नेतृत्व गर्नमा पनि अग्रसर छन्। उप्रेतीले हालै दुवईमा सम्पन्न जलवायु सम्मेलन २८ मा नेपालको प्रतिनिधित्व गर्दै ब्ल्याक कार्बन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएका थिए।

युवाहरूको सक्रिय सहभागिता र विचारशील बहसको संस्कृति स्थापित गराउन उनी निरन्तर क्रियाशील छन्। कायापलट संस्थामार्फत युवाहरूलाई सक्षम बनाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै, उनले सामाजिक जागरण र सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उप्रेतीले स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरमा लोकतन्त्र र सुशासनका लागि समुदाय र सरकारबीचको पुलको भूमिकामा आफूलाई स्थापित गरेका छन्।

प्रतिक्रिया