मुख्यमन्त्रीको अस्पताल अनुगमन, निजी क्षेत्रको विरोध र चेतावनी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितताका विरुद्ध व्यापक अनुगमन अभियानलाई तीव्रता दिएका छन्। तर, उनको यो अभियानले विवाद र निजी अस्पतालहरूबीच विवाद र असन्तुष्टि उत्पन्न गराएको छ।
माघ २५ मा जनकपुरधाम–१४ स्थित पिडारीचोकको मुस्कान अस्पताल मा शल्यक्रिया पछि २० दिनसम्म होस नफर्कने एक बिरामीको घटना प्रकाशित भएपछि मुख्यमन्त्री सिंहले त्यस अस्पताल अनुगमन गरी बन्द गर्न निर्देशन दिए । माघ २६ मा थप १९ अस्पताल दर्ताबिना सञ्चालनमा रहेको पत्ता लगाएपछि आइतबारसम्म ३ अस्पताल थप बन्द गरियो ।
यस कारबाहीलाई केहीले स्वास्थ्य सेवामा अनियमितताको विरुद्ध ठोस कदम भने भए तापनि अर्को तर्फ आलोचकहरूले मुख्यमन्त्रीले “स्टन्ट” गरी राजनीतिक प्रचार वा आर्थिक लाभ खोजेको आरोप लगाएका छन् । यसबीच, सार्वजनिकमा स्वास्थ्य सेवाको गुणस्तर र निजी अस्पतालहरूको जवाफदेहितामाथि बहसलाई तीव्र बनाएको छ।
प्रतिक्रियास्वरूप, निजी अस्पताल सञ्चालकहरूले डा. सरोज कुमार ठाकुरको नेतृत्वमा २५ सदस्यीय प्राइभेट हस्पिटल एसोसिएसन जनकपुरधाम गठन गरेका छन् । यस सङ्गठनले मुख्यमन्त्रीको अनुगमनलाई “असुनियोजित” र “अनावश्यक दबाब” भनेर आरोप लगाएको छ । उनीहरूको दाबी छ— नियामक निकायले नै अस्पतालको मोनिटरिंग गर्नुपर्ने, मुख्यमन्त्रीले व्यक्तिगत छापामारी गरी सबैलाई अवैध ठहर्याउन खोजिएको छ ।
एसोसिएसनले सरकारले उनीहरूको माग नसुने आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । उनीहरूले “झूटा प्रचार” र “अन्यायपूर्ण कारबाही” विरुद्ध संघर्षको घोषणा गरेका छन् ।
यस घटनाले मधेश प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर, जवाफदेहिता र राजनीतिक उद्देश्यका बीच उत्पन्न तनावलाई उजागर गरेको छ। जनताको स्वास्थ्य सेवाप्रतिको विश्वास र सरकारको भूमिकाबारे व्यापक बहस भइरहेका छन्।






