विदेह नगरपालिका : मेयरको छोराले हाकिम कुटे, मेयरले पनि दिए गोली हान्ने धम्की

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले मेयर बेचन दास र उनका छोरा रामभजन दासविरुद्ध उजुरी दिएका छन्। साहले मेयर र उनका छोरामाथि आफूलाई कार्यकक्षमै कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको गम्भीर आरोप लगाएका छन्।

मंगलबार, शिक्षक सेवा आयोगबाट सिफारिस भएकी शिक्षिकालाई विद्यालयमा हाजिर गराएपछि रामभजन दासले साहलाई कार्यकक्षमै कुटपिट गरेको भनिएको छ। उजुरीमा साहले भनेका छन्, “निमावि सामाजिक शिक्षक पवन कुमारीलाई हाजिर गराउँदा नगर प्रमुखका छोराले ममाथि कुटपिट गरे। त्यसपछि मेयर दास कार्यकक्षमा आएर मलाई गोली हानिदिने धम्की दिए।”

साहले प्रमुख जिल्ला अधिकारीलाई दोषीहरूविरुद्ध कारबाहीको माग गर्दै आफूले काम गर्ने सुरक्षित वातावरण उपलब्ध गराउन अनुरोध गरेका छन्।

राष्ट्रिय सतर्कता केन्द्रबाट सरुवा भई दुई महिना अघि विदेह नगरपालिकामा आएका साहले २६ दिनअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए। नगरपालिकामा पदबहाली भएदेखि उनले अनियमितता र बेथितिविरुद्ध कडा कदम चालेको बताइन्छ।

केही दिनअघि, साहले करिब दस लाख रुपैयाँ बराबरका कम्बल खरिद प्रक्रियामा अनियमितता भेटेपछि ती कम्बल फिर्ता गराएका थिए। यस्तै, अन्य बेथितिहरूमा साथ नदिएपछि मेयर र उनका छोरा साहसँग असन्तुष्ट भएको जनाइएको छ।

यो घटनाले नगरपालिकाको प्रशासनिक वातावरणलाई थप तनावपूर्ण बनाएको छ।

प्रतिक्रिया