ओडिशा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन, ६ जना पक्राउ

काठमाडौं । ओडिशा सरकारले कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

ओडिशा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै केआईआईटीमा उत्पन्न घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जनाएको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने बताइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार घटनाबारे एफआरआई दायर गरी हालसम्म पाँच जनालाई नियन्त्रणमा लिइएको छ । जसमा विश्वविद्यालयका तीनजना निर्देशक र दुईजना सुरक्षाकर्मी छन् । यसअघि सोमवार नै ओडिशा प्रहरीले मृतक प्रकृति लम्सालका दाजु सिद्धान्त सिग्देलको उजुरीमा आरोपित भनिएका सोहि विश्वविद्यालयका आद्विक श्रीवास्तवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

आइतवार विश्वविद्यालयको बिटेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देहीकी लम्सालको शव होस्टल कोठामा फेला परेको थियो । न्यायको माग गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीमाथि सोमवार विश्वविद्यालय प्रशासनले अमानवीय व्यवहार गर्दै होस्टलबाट बाहिर निकालेका थिए भने विश्वविद्यालयका पदाधिकारीले आपत्तिजनक शब्दहरुको प्रयोग गरेका थिए । उक्त घटना पछि यो विषय गम्भीर बनेको हो ।

प्रतिक्रिया