केआईआईटीको निर्णयले नेपाली विद्यार्थीहरूको भविष्य संकटमा

काठमाडौं । सर्लाहीका विनय कुमार यादव (नाम परिवर्तन) कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को बिटेक दोस्रो वर्षमा अध्ययनरत छन् । तर, उनी यही फागुन १६ गतेबाट हुने फाइनल जाँचका लागि तयारी गर्दै गर्दा घर फर्किन बाध्य भएका छन् । अब उनी फाइनल जाँच दिने वा के हुन्छ भन्नेबारे अन्यौलमा छन् ।

भारतको ओडिशा राज्यस्थित केआईआईटीको बिटेक तेस्रो वर्षमा अध्ययनरत एकजना नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या पछि उत्पन्न भएको घटनाले त्यहाँ अध्ययनरत १ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्य नै अन्यौलमा परेको छ ।

विनय भन्छन्, ‘आइतवार लम्सालको शव उनी बस्दै आएको होस्टलको रुममा फेला परेको थियो । लम्सालले आत्महत्या गरेको भन्दै विश्वविद्यालय प्रशासनले घटना ढाकछोप गर्ने प्रयास गरिरहँदा हामीले आइतवारदेखि घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन गरिरहेका थियौँ । तर, हामीलाई सोमवार बिहान एकाएक होस्टलबाट खेदियो ।’

उनले सुनाए, ‘आइतवार साँझ ५ बजेबाट हामीले आन्दोलन सुरु गर्यौँ र सोमवार बिहान ४ बजेसम्म आन्दोलनमै थियौँ । लगभग ८ सयजना थियौँ हामी आन्दोलन गर्नेमा । विश्वविद्यालयमा फेस्ट भएका कारणले कसैले पनि आराम गर्न सकेको थिएन भने खाना पनि खाएका थिएनौँ । मोबाइल पनि चार्ज थिएन, त्यसकारण आन्दोलन गरिरहेका मध्य केही होस्टल गए खाना खान र मोबाइल चार्ज गर्न । तर, लगभग २ देखि ३ सयजना विद्यार्थी भने आन्दोलनमै थिए । तर, अचानक प्रशासनले शक्ति प्रयोग गरेर हामीलाई होस्टलबाट आन्दोलनस्थलमा जान रोक्न थाल्यो । त्यसपछि हामीले होस्टल वार्डनलाई ढोका खोल्न भन्यौँ तर, उनले हाम्रो कुरा सुनेन् । र, यत्तिकैमा हामीलाई सबै नेपाली विद्यार्थी होस्टलबाट बाहिर जाउ भन्दै जबरजस्ती गर्न थाले र कुटपिट गर्न थाले । केहीलाई कटक रेलवे स्टेशन त केहीलाई भुवनेश्वर लगेर छाडियो ।’

नागरिक मिररसँगको कुराकानीमा उनले भने, ‘हामीसँग कन्फर्म टिक थिएन । सामान पनि प्याक गर्न सकेनौँ । ट्राभल एजेन्सीबाट टिकट बुक गरेर घर फर्किने निर्णय गर्यौँ ।’
उनले थपे, ‘प्रशासनले सबैको मोबाइल खोसेर हामीले उनीहरूले गरेको व्यवहारलाई रेकर्ड गरेको र फोटो खिचेको सबै डिलेट गरिदिए । पैसा पनि छैन खाना पनि छैन अनि यसरी अलपत्र बनाउँदा तनाव उत्पन्न भएका कारण घरमा पनि भन्न सकेनौँ ।’

घरमा भनेपछि तनाव हुन्छ भनेर टिकट बुक गरेर गाडीमा बसेपछि मात्रै खबर गरेको उनले बताए । घरमा खबर गरेपछि सुरक्षित घर आउन भनेर बुबाआमाले भनेको पनि उनले सुनाए ।

बुधवार सर्लाही फर्केका उनी घरको ठूलो छोरा हुन् । कन्सल्टेन्सीको माध्यमबाट केआईआईटीमा एडमिशन गराएका विनयले ४ वर्षका लागि झन्डै २० लाख तिर्नुपर्ने बताए ।

विश्वविद्यालयले माफी मागिसकेको र नेपाली विद्यार्थीलाई फर्किन भनिरहेको छ, के गर्नुहुन्छ तपाईं भनेर नागरिक मिररको प्रश्नमा उनले भने, ‘हामी केआईआईटीका विद्यार्थीहरू सम्पर्कमा छौँ । हाम्रो लागि के ठिक हुन्छ र सरकारले के भन्छ त्यो हेरेर बुझेर मात्रै निर्णय गर्छौ ।’

केआईआईटीको घटनाबारे ओडिशा राज्य सरकारले लम्सालको मृत्युपछि उत्पन्न भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ भने विश्वविद्यालयका उपकुलपति र अपशब्द प्रयोग गर्ने कर्मचारीले माफी मागिसकेका छन् । तर, अचानक विद्यार्थीलाई होस्टलबाट निकालेपछि अधिकांश विद्यार्थी नेपाल फर्किसकेका छन् । यस विषयमा अब के गर्ने भन्ने विषयमा सरकारको कदमको प्रतिक्षा हुँदैछ ।

प्रतिक्रिया