रौतहटमा छोटी भन्सार र सवारी आवागमनको माग गर्दै तीन जनाको आमरण अनसनमा

रौतहट । रौतहट जिल्लाको पर्रोहा नगरपालिका–९, दसगजाछेऊ खाप नाकामा छोटी भन्सार सञ्चालन र चारचक्के सवारीसाधन आवागमनको माग गर्दै तीन स्थानीयहरु आमरण अनसनमा बसेका छन्। प्रजातन्त्र दिवसको अवसरमा ६५ वर्षीय महमद तजमुल, ६७ वर्षीय जगतलाल यादव र ५५ वर्षीय साहेवलाल साहले बुधबार बिहान १० बजेबाट अनसन सुरु गरेका हुन्।

तीनै जनाले चेतावनी दिएका छन् कि जबसम्म माग सम्बोधन हुँदैन, अनसन जारी रहनेछ। उनीहरूले भने, “बरू ज्यान जान्छ भने जाओस्, तर हामी पछि हट्ने छैनौं।“ यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटसँग समेत बारम्बार ज्ञापन पत्र बुझाए तापनि कुनै निकायले तिनीहरूको मागमा ध्यान नदिएका कारण उनीहरू अनसनमा बस्न बाध्य भएका छन्।

आन्दोलनकारीहरूको मागमा ऐक्यवद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताहरूले समर्थन जनाएका छन्। नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठाकुर लगायतका नेताहरूले आन्दोलनको पक्षमा आवाज उठाएका छन्।

छोटी भन्सार सञ्चालन र सवारी आवागमनको रोकले सदियौंदेखि चली आएको नेपाल–भारतको रोटीबेटी सम्बन्धमा असर परेको उनीहरूको भनाइ छ। २००७ सालको प्रजातन्त्र आन्दोलन पछि छोटो भन्सार सञ्चालनमा ल्याइएको थियो, तर माओवादी द्वन्द्व र असुरक्षाको कारण उक्त भन्सार बन्द गरिएको थियो।

कोरोना महामारीको समयमा भारतीय सीमा सुरक्षा बलले सानो नाकाबाट सवारी साधन आवागमनमा रोक लगाएको छ। रौतहट जिल्लामा भारतीय सीमा सुरक्षा बलको रोकले स्थानीय जनतालाई भारतको नजिकको बजारहरूमा जान कठिनाई उत्पन्न गरेको छ।

आन्दोलनकारीहरूले तस्करी रोक्न र सरकारको राजस्व वृद्धिका लागि पनि छोटी भन्सार खोल्ने माग गरेका छन्। रौतहट जिल्लामा अहिले मात्र गौर र काचोर्वा नाकामा चारचक्के सवारी आवागमनको सुविधा दिइएको छ।

प्रतिक्रिया