वीरगंजका सात अस्पतालमा मुख्यमन्त्रीको अनुगमन : नेपाल इन्डो हस्पिटललाई बन्द गर्न निर्देशन

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा स्वास्थ्य अनुगमन टोलीले बुधबार वीरगंजका सातवटा अस्पतालको अनुगमन गरेको छ। अनुगमनको क्रममा नेपाल इन्डो हस्पिटल एण्ड आइकेयर सेन्टरलाई तत्काल बन्द गर्न निर्देशन दिइएको छ। अस्पतालमा केवल दुई कर्मचारी मात्र भेटिएपछि, अस्पतालको बोर्ड त झुन्डिएको भए पनि अस्पतालको मापदण्डको अभाव देखिएकाले बन्द गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।

त्यस्तै, भवानी अस्पताल एण्ड रिसर्च सेन्टर र स्पर्श मल्टि स्पेशलिटी हस्पिटललाई दोहोरो दस्तावेज नविकरण गर्न दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ। यी अस्पतालहरूमा नविकरण प्रक्रिया अपूर्ण देखिएको छ।

साह हस्पिटल प्रालिको बारेमा अनुगमन टोलीले उल्लेख गरेको छ कि यो अस्पताल अब क्लिनिकको रूपमा परिणत भइसकेको छ, तर अस्पतालको बोर्ड अझै झुन्डिएको थियो। अनुगमन टोलीले उक्त बोर्ड तुरुन्त हटाउन निर्देशन दिएको छ।

अनुगमनमा समावेश भएका तीन अस्पतालहरू भने प्रक्रियाअनुसार दर्ता भई नविकरण गरिएको देखिएका छन्। प्रभु अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि, सर्वोत्तम अस्पताल र गण्डक हस्पिटल प्रालि दर्ता भई नियमित रूपमा नविकरण गरिएको पुष्टिकरण भएको छ।

प्रतिक्रिया