सकियो महाकुम्भ, ६७ करोडले गरे संगममा स्नान

भारत । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजना गरिएको महाकुम्भ सम्पन्न भएको छ ।
गत १३ जनवरीबाट सुरु भएको महाकुम्भ महाशिवरात्रीका दिन सकिएको हो । १४४ वर्षपछि लागेको महाकुम्भमा ६७ करोडभन्दा बढी श्रद्धालु भक्तजनले सहभागीता जनाएको उत्तर प्रदेश सरकारले बताएको छ । महाकुम्भको अन्तिम दिन महाशिवरात्रीका दिन मात्रै १ करो ५३ लाखभन्दा बढी श्रद्धालु भक्तजनले स्नान गरेको पनि उत्तर प्रदेश सरकारले बताएको छ ।

४५ दिनसम्म चलेको महाकुम्भमा भारतबाहेक नेपाल र विश्वका अन्य मुलुकबाट पनि भक्तजनले स्नान गरेका थिए । जसमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका राजना जिग्मे खेसर नामग्याल वाङ्चुक, नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासहित अन्य विश्व चर्चित व्यक्तिहरूले पनि संगममा स्नान गरेका थिए ।
महाकुम्भ सुरु हुनु अघि उत्तर प्रदेश सरकारले ४० देखि ४५ करोडले सहभागिता जनाउने अनुमान गरेको थियो । कारण, २०१९ को अर्धकुम्भमा २४ करोड श्रद्धालुले संगममा स्नान गरेका थिए ।






