दिल्लीविरुद्ध आजको खेलमा धोनीले गर्न सक्छन् चेन्नईको कप्तानी ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । चेन्नईमा हुने आजको खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

जारी लिगमा दिल्ली राम्रो प्रदर्शन गर्दै आएको छ भने पाँच पटकको विजेता चेन्नईको प्रदर्शन निराशाजनक छ । हालसम्म २ खेल खेलेको दिल्लीले २ मा जित हात पारेको छ भने ३ खेल खेलेको चेन्नईले १ मा मात्रै जित निकालेको छ ।

आजको खेलमा भने चेन्नईका कप्तान ऋतुराज गायक्वाडले खेल्ने सम्भावना कम रहेको बताइएको छ । उनको कुहिनामा चोट लागेका कारण आजको खेलमा उनले कप्तानी गर्ने सम्भावना कम रहेको चेन्नईका बलिङ्ग कोच माइकल हसीले बताएका छन् । कप्तान गायक्वाडको खेल्ने सम्भावना कम हुँदा आजको खेलमा महेन्द्र सिंह धोनीले कप्तानी गर्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो पटक २०२३ मा धोनीले चेन्नईको कप्तानी गरेका थिए । सन् २०२४ देखि चेन्नईको कप्तानी ऋतुराजले गरिरहेका छन् ।

यता अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली राम्रो फर्ममा रहेको छ । आजको खेलमा चेन्नईलाई हराउँदै दिल्ली आफूलाई अङ्क तालिकाको शिर्ष स्थानमा उचाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

त्यस्तै आजै हुने अर्को खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुल्लानपुरमा हुने यी दुई टीमबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
    ट्याग: