गजरियामा मनाइयो सिचाइँ दिवस, नहर मरम्मतको उद्घाटन

जनकपुरधाम । धनुषाको कञ्चनवनमा सिचाइँ दिवस मनाइएको छ ।
जिल्लाको लक्ष्मिनिया गाउँपालिका ३ कञ्चनवनस्थित गजरिया विघी उपभोक्ता सिचाइँ आयोजनामा मधेश प्रदेश सरकारको उर्जा, सिचाइँ तथा खानेपानी मन्त्रालयले किसानहरूको सहभागितामा सोमवार सिचाइँ दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेश सरकारका उर्जा, सिचाइँ तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खङ्ग लगायतका प्रमुख नेता र कमर्चारी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण नहरको मरम्मत सम्भारको साङ्केतिक उद्घाटन थियो । जसमा प्रमुख तथा विशिष्ट अतिथिहरूले कोदालो चलाएर नहरको मर्मत सम्भार कार्यको उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेन्द्र यादवले किसानहरूलाई आवश्यकता अनुसारको सिचाइँका लागि योजनाहरू प्रदेश सरकारसँग माग गर्न आग्रह गरे । उनले भने, ‘बासमति चामलको अन्तर्राष्ट्रिय माग बढिरहेको छ, त्यसैले धनुषा जिल्लालाई बासमति चामलको पकेट क्षेत्र बनाउने दिशामा थप ध्यान दिन आवश्यक छ ।’
कार्यक्रमका विशिष्ट अतिथि, प्रदेश सरकारका मन्त्री शेष नारायण यादवले मधेश प्रदेश कृषि क्षेत्र रहेकाले प्रदेश सरकारले सिचाइँतर्फ बढी ध्यान केन्द्रित राखेको बताए । उनले प्रदेश सरकारको बजेटले भ्याउन नसक्ने अवस्था रहेपनि सकेसम्म सिचाइँको क्षेत्रमा स-साना आयोजना सञ्चालन र मरम्मत सम्भारको कार्य गर्दै आइरहेको बताए ।
साथै उनले पानीको महत्त्व बुझेर त्यसको बचत गर्न किसानहरूलाई आग्रह समेत गरे । उनले भने, ‘पानीको सतह तल झर्दै गएको छ, त्यसैले पानीको संरक्षण र सम्भारका लागि स–साना ड्याम र नहरको मर्मत कार्यमा किसानहरूले सक्रियता देखाउनुपर्छ ।’ उनले सरकारको विभेद नीति कारण मधेश क्षेत्रका सिचाइँ आयोजनाहरूमा गम्भीर असर परेको र यसमा सुधार ल्याउन प्रदेश सरकारको प्रयास जारी रहेको जानकारी दिए ।
मन्त्री यादवले सो सिचाइँ आयोजनाको मरम्मत सम्भार कार्य यसै सातादेखि शुरु गराउने प्रतिबद्धता जनाउँदै दूधमति नदी उकास तथा विकास परियोजना सफल भए यस क्षेत्रमा हजारौ किसानहरूलाई सिचाइँको समस्या समाधान हुने बताए ।
गजरिया विघी उपभोक्ता सिचाइँ आयोजनाका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, मन्त्रालयका सचिव रामकुमार खङ्ग र प्रदेश सभा सदस्य कुमरकान्त झाले सिचाइँ क्षेत्रमा भएका समस्या र प्रदेश सरकारले गर्दै समाधानबारे कुरा राखेका थिए ।






