टी–२० आई क्रिकेट: नेपालको दोस्रो जित, ऐरीको नयाँ कीर्तिमानी

काठमाडौँ । टी–२० आई क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ ।
हङकङमा भएको आजको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पारेको हो ।
कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको नेपालले निर्धारित ओभरको एक ओभर बाँकी छदै ४ विकेटको क्षतिमा जित हासिल गर्यो ।
नेपालको जितका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ८१ रन जोडे भने आशिफ शेखले ५३ रनको योगदान गरे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३१ रन बनाए ।
कुवतेका लागि याशिन पटेलले २ विकेट लिँदा मोहम्मदर शफिक र मोहम्मद असलमले समान एक/एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको कुवेतले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१, मित भावसरले ३५ र रविजा सन्दरुवानले २६ रन बनाए । अन्य खेलाडीले भने खासै रन जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए । त्यस्तै ललित राजवंशी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
यसैबीच, नेपालका अलराउण्डर ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन् ।
उनले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी-२० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।
आज भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए ।
उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ ।
त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् ।






