शिक्षक आन्दोलनले खुद्रा व्यापारीलाई सहज…

काठमाडौँ । सर्लाहीका हरिदेव महतो, उमेरले ६० लागे । उनी काठमाडौँको बबरमहलमा डेरा गरी बस्दै आएका छन् । फलफूलको सलाद बेचेर उनको दैनिकी चलिरहेको छ । तर, अन्य बेलाको तुलनामा माइतीघर मण्डलामा कुनैपनि आन्दोलन भयो भने उनको आम्दानी ४/५ गुणाले बढ्छ ।

अहिले पनि पछिल्लो ८ दिनदेखि काठमाडौँमा जारी शिक्षक आन्दोलनले गर्दा उनलाई व्यापारमा राम्रो फाइदा भएको छ । उनी भन्छन्, ‘सामान्य बेलामा दिनको २ हजार पनि मुस्किलले कमाई हुन्छ । तर, अहिले आन्दोलन सुरु भएदेखि ५/६ हजार र त्योभन्दा बढी पनि आम्दानी भइरहेको छ ।’

हरिदेव मात्रै होइन काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा आन्दोलन भयो भने साना तथा खुद्रा व्यापारीहरूलाई राम्रै फाइदा हुने गरेको छ । शिक्षक आन्दोलनमा मात्रै ५० हजारभन्दा बढी शिक्षकहरू छन् भने चिकित्सक आन्दोलन पनि चलिरहेको छ । दिनभर आन्दोलनमा सहभागी भएकाहरूलाई खाजा खान टाँढा कतै जानै पर्दैन । माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्मका प्रायः सबैजसो खाजा खाने ठाउँ भरिभराउ हुन्छ ।

शिक्षक आन्दोलनमा काक्रो, फलफूल सलाद, चटपटे, बदाम लगायतका खानेकुराको व्यापार गर्नेहरूको अहिले राम्रै उपस्थिति छ ।

सिन्धुपाल्चोकका विरबहादुर लामा पनि शिक्षक आन्दोलनमा काक्रो बिक्री गर्न आएका छन् । उनले सुनाए, ‘झोलामा १०/१५ गोटा काक्रो र नुन खुर्सानी लिएर आको हुँ । अहिले दिनदिनै आउँछु । दिनको खर्च निस्किदो रहेछ । सजिलो भएको छ छाक टार्न ।’

प्रतिक्रिया