‘फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देख्नेविरुद्ध मजदुरवर्ग एक हुन आवश्यक’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा बिहीवार आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।

“फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उहाँले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताए ।

“हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डा राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ”, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, नेपाल उद्योग वणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया