स्वास्थ्य मन्त्री भन्छन्ः मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औँ स्थापना दिवसका अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उनले उपत्यकाभित्रका स्वास्थ्य संस्थामा जनशक्ति रहे पनि बाहिर अभाव रहेको बताए ।

मन्त्री पौडेलले भने, “काठमाडौँ उपत्यकाबाहिर नौवटा दरबन्दी भएको सङ्घीय अस्पतालमा एकजना मेडिकल सुपरिटेन्डेन्ट मात्र कार्यरत हुनुहुन्छ । जनशक्ति उत्पादन गर्ने, स्वदेशमै टिकाउने, दुरदराज खटिने स्थिति बनाउन पर्नेछ, त्यसका लागि कम खर्चिलो, नागरिकलाई आर्थिक दायित्व कम हुने जनशक्ति उत्पादनलाई सहज बनाउन जरुरी छ ।”

उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने देशको आवश्यकता भएकाले राज्यकै लगानीबाट जनशक्ति उत्पादन गरी देशभित्रै टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक रहेको धारणा राखे ।

मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगका उपचारका लागि सबै प्रदेश अस्पतालमा सेवा विस्तार गरिए पनि लोक सेवाको परीक्षा दिई ती ठाउँमा गएर काम गर्छु भन्ने जनशक्तिको अभाव देखिएकाले न्याम्सले नीतिगत प्रस्टता लिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले भने, “वीर अस्पतालको जगमा उभिएको प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन र स्वास्थ्य सेवा उपलब्ध गराएको छ । केही वर्षपछि नेपालमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा प्रतिष्ठान रहनेछ ।”

प्रतिष्ठानबाट हालसम्म तीन हजार ६८० चिकित्सकले विशेषज्ञता हासिल गरिसकेका छन् । विसं २०५७ जेठमा गठन भएको कमिटीको प्रतिवेदनका आधारमा विसं २०५९ स्थापना भएको प्रतिष्ठानले चिकित्सा क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त गरेको छ । १३५ वर्षअघि स्थापना भएको वीर अस्पतालको जगमा प्रतिष्ठान अघि बढिरहेको छ ।

प्रतिक्रिया