पाकिस्तानले शुक्रवार ‘हाई स्पीड’ मिसाइलको प्रयोग गरेको भारतीय सेनाको दावी

काठमाडौँ । भारतीय सेनाले पाकिस्तानले शुक्रवार राति भारतका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ । भारतीय सेनाकी कर्नल सोफिया कुरैशीले आज प्रेस ब्रीफींगको क्रममा शुक्रवार राति पाकिस्तानसँग जोडिएका भारतीय सीमा क्षेत्रमा भएको आक्रमणबारे जानकारी दिइन् ।
उनले जानकारी दिँदै भनिन्, “पाकिस्तानी सेनाले पश्चिमी क्षेत्रमा आक्रामक गतिविधि जारी राख्यो । नियन्त्रण रेखामा ड्रोनले आक्रमण र हथियारसहित गोलिबारी गरियो । श्रीनगरदेखि नलियासम्म २६ स्थानमा हवाई आक्रमणको प्रयास गरियो । जुन सफल हुन सकेन ।”
कर्नल कुरैशीले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, बठिन्डा र आदमपुरमा सैन्य हवाई केन्द्रमा आक्रमण गर्दै क्षति पुर्याएको बताइन् ।
पञ्जाबको सैन्य केन्द्रमा राति १ः ४० मिनटमा हाई स्पीड मिसाइलले आक्रमण गरिएको भन्दै उनले भारतले उक्त मिसाइललाई नष्ट बनाएको बताइन् ।
भारतीय विदेश सचिव विक्रम मिसरीले पाकिस्तानको गतिविधि लगातार उक्साउने किसिमको रहेको र भारतले पनि जवाफ दिएको बताए ।
पाकिस्तानले भने भारतको बयानमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, बिहीवारको आक्रमणमा भने आफ्नो संलग्नता नरहेको पाकिस्तानले दावी गर्दै आएको छ ।






