भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्नेमा सहमति!

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल र पूर्ण रुपले युद्धविरामका लागि सहमत भएको बताएका छन् ।
शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक पोस्ट साझा गर्दै लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानी पछि मलाई यो घोषणा गर्दा निकै खुशी भइरहेको छ की भारत र पाकिस्तानले पूर्ण र तत्काल सीजफायरमा सहमति जनाएका छन् ।’

अमेरिकी विदेश मम्त्री मार्को रूबियोले भारत र पाकिस्तानले विभिन्न विषयमा कुराकानी गर्नका लागि सहमति जनाएको बताए । उनले भने, ‘भारत र पाकिस्तान तत्काल सीजफायर गर्न र एउटा निष्पक्ष स्थानमा विभिन्न मुद्दामा कुराकानीका लागि सहमत भएका छन् ।’
यस विषयमा पाकिस्तानका उपप्रधानमन्त्री र विदेश मन्त्री इसहाक डारले पनि एक्समा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘पाकिस्तान र भारत पूर्ण र तत्काल संघर्षविरामका लागि सहमत भएका छन् ।’

उनले लेखेका छन्, ‘पाकिस्तानले सँधै आफ्नो सम्प्रभुता र क्षेत्रीय अखन्डताका साथ बिना कुनै सम्झौता शान्ति र सुरक्षा चाहन्छ ।’
तर, यस विषयमा हालसम्म भारतको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।






