उपचारका लागि भर्ना भएका बिरामीको जब मुसाले औँला खाइदियो…

काठमाडौँ । भारतको बिहार राज्यको राजधानी पटनाको एक सरकारी अस्पतालमा बिरामीको औँला मुसाले टोकेको घटना सार्वजनिक भएको छ ।

पटनाको नालन्दा मेडिकल कलेज एन्ड हस्पिटल (एनएमसीएच) मा उपचारका लागि भर्ना भएका एकजना बिरामीको औँला मुसाले टोकेको पाइएको छ ।

बीबीसीका अनुसार ५५ वर्षीय अवधेश प्रसाद १७ मे का दिन नालन्दा अस्पतालमा भर्ना भएका थिए । उनी दिल्लीमा रहेर मजदुरीको काम गर्दै आएका छन् । मधुमेहका बिरामी रहेका अवधेश आफ्नो भाँचेको दाहिने खुट्टाको उपचारका लागि पटनाको नालन्दा अस्पताल पुुगेका थिए ।

अवधेशले भने, ‘१७ मे मा राति ज्वरो आयो त्यसपछि मलाई स्लाइन पानी पनि दिइयो । राति २ बजेसम्म ज्वरो निको भयो । त्यसपछि म निदाए । तर, अचानक मलाई महसुस भयो की मेरो छातीमा केही छ । मैले हेर्दा त्यो मुसा थियो । र, मेरो खुट्टा पनि रगताम्य थियो । मैले सँगै भएकी मेरी श्रीमतीलाई उठाए । उ रुन थाली । पछि डाक्टरलाई बताउँदा मेरो ड्रेसिङ्ग गरियो ।’

अवधेशको देव्रे खुट्टा यसअघि नै काटिएको छ । देव्रे खुट्टामा घाउ भएका कारण उनको खुट्टा काट्नु परेको उनको श्रीमतिले बताइन् ।

उक्त घटनाबारे अस्पतालका सुपरिटेन्डेन्ट रश्मि प्रसादले भनिन्, ‘मलाई र अस्पतालको हड्डी रोगको विभाग प्रमुखलाई घटनाबारे पत्रिकाको माध्यमबाट १९ मे का दिन जानकारी प्राप्त भयो ।’

उनले भनिन्, ‘घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्पतालको सरसफाइ गरियो । जतिपनि खुलेका नालाहरू छन् तीनिहरूको मर्मतका लागि आदेश दिइएको छ । त्यसबाहेक सरसफाइ कर्मचारीसँग पनि जवाफ माग गरिएको छ ।’

अस्पतालमा जताजतै मुसा रहेको भन्दै उनले मुसाकै टोकाइबाट उक्त घटना भएको हो वा होइन भन्नेबारे यकिनका साथ भन्न नसकिने उनले बताइन् ।

सन् १९७० मा स्थापित नालन्दा अस्पतालमा सन् २०२४ मा शवको आँखा गायब भएको घटना पनि सार्वजनिक भएको थियो ।

नालन्दाकै एकजना फन्टुश नाम गरेका व्यक्तिको मृत शरीरबाट आँखा गायब भएको थियो । त्यतिबेला मुसाले आँखा लगेको बताइएको थियो ।

प्रतिक्रिया