निर्जीवन बीमाबाट मधेस प्रदेशमा दुई अर्ब १५ करोड सङ्कलन

पर्सा । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बीमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने रु दुई लाख ५९ हजार ४७५ रहेको छ ।
निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले रु एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई रु एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरिन् । “हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भनिन्, “आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”
कार्यालयले चालु आवको नौ महिनामा जीवन बीमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।
जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।
कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट रु दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो ।






