‘म मेरो रिटायरमेन्टको घोषणा गर्दिन र आगामी सिजन खेल्छु भनेर पनि भन्दिन्’

काठमाडौँ । चेन्नई सुपर किङ्ग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो सन्यासबारे जारी अन्यौलतालाई कायमै राखेका छन् ।

जारी सिजनको आईपीएलबाट बाहिरिसकेपछि धोनीले सन्यासको घोषणा गर्लान् भन्ने बहस चलिरहँदा उनले केही प्रष्ट बोलेनन् ।

आइतवार जारी सिजनको अन्तिम खेल खेल्दै चेन्नईले गुजरात टाइटन्समाथि सानदार जित हासिल गर्यो । जित पछि प्रेस कन्फ्रेन्समा आगामी सिजन खेल्ने कि सन्यास लिने भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म मेरो रिटायरमेन्टको घोषणा गर्दिन र न म यो भन्छु की म अर्को सिजनमा हुँदिन ।’

उनले थपे, ‘मसँग यस विषयमा निर्णय गर्नका लागि अहिले ४÷५ महिना समय बाँकी छ । हतार छैन । तपाईंलाई सँधै आफ्नो उत्कृष्ट स्थितिमा बस्नुपर्छ । यदि खेलाडी प्रदर्शनको आधारमा रिटायर हुन थाल्यो भने त केही खेलाडी २२ वर्षमै रिटायर हुनेछन् ।’

अब राँची जाने र बाइक राइडको आनन्द लिने भन्दै उनले त्यसपछि बल्ल निर्णय गर्ने बताए ।

उनले जारी सिजनमा आफ्नो टीमको फिल्डिङ्ग खराब रहेको भन्दै अब ऋतुराज आएपछि उनलाई सहज हुने बताए ।

पाँच पटकको आईपीएल विजेता चेन्नईको जारी सिजनमा राम्रो रहेन । जसका कारण चेन्नई प्लेअफको रेसबाट बाहिरियो ।

प्रतिक्रिया