सीमावर्ती क्षेत्रको व्यावसायिक गतिविधि व्यवस्थित र मर्यादित ढङ्गले अघि बढ्नुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमावर्ती क्षेत्रको व्यावसायिक गतिविधि व्यवस्थित, मर्यादित र सन्तुलित ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।
मङ्गगलवार जयनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम बरौलियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटपछि उनले नेपाल र भारतको सीमावर्ती व्यापारव्यवसायको आधार दुवै देशबीचको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धले तय गर्दै आएको उल्लेख गरे ।
उनले विवाह, व्रतबन्ध, श्राद्धकर्म लगायत सामाजिक व्यवहारका लागि सीमावर्ती भारतीय बजारमा वारिका नेपालीले किनमेल गर्ने परम्परा नै रहेको भन्दै यसलाई दुवै देशको हितसाधन हुनेगरी अगाडि बढाउनुपर्ने धारणा राखे ।
सामान आयातका लागि कारोबार हुँदा राजस्व छल्ने कुरा निरूत्साहित गर्न, जनकपुर(जयनगर रेल्वे भारतीय सीमामा पुग्दा सुरक्षा प्रवन्धन मजबुत बनाउन, लागुऔषधको किनबेच तथा दुर्व्यसनमा कठोरता अपनाउन र जनकपुर बजार समेत प्रवर्द्धन हुने लगायतका विषयमा भएका छलफल उपलब्धिमूलक रहेको पनि उनले जानकारी दिए ।






