रिजवान अन्सारीको अगुवाइमा जनकपुरबाट संघीय गणतान्त्रिक गठबन्धनको घोषणा हुँदै

जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकता जस्ता संविधानप्रदत्त मूल्यहरूको संरक्षण तथा विस्तारका लागि नयाँ राजनीतिक गठबन्धनको घोषणा जनकपुरधाममा हुँदैछ।
संघीय गणतान्त्रिक गठबन्धन नाम दिइएको यस नयाँ मोर्चाको औपचारिक घोषणा बिहीबार दिउँसो १ बजे जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ। गठबन्धनमा मधेस केन्द्रित पाँच राजनीतिक दलहरू सहभागी छन्।
पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी सहित, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी, ध्रुबला मिसाद नेतृत्वको नेपाल जनशक्ति पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र बद्री ठाकुर नेतृत्वको ऐतिहासिक जनता पार्टी मिलेर उक्त गठबन्धन बनेको हो।
पूर्व मन्त्री अन्सारीले संविधानमा सुनिश्चित गरिएका अधिकारहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्न गठबन्धनको आवश्यकता परेको बताए। उनले अधिकार सम्पन्न प्रदेश निर्माण, नेपाली सेनामा मधेसी र अन्य उत्पीडित समुदायको सामुहिक प्रवेश, भ्रष्टाचार नियन्त्रण र सुशासन संस्थागत गर्ने गठबन्धनको मुख्य एजेन्डा भएको बताए।
“नेकपा एमाले, नेपाली काँग्रेस लगायत मधेस केन्द्रित विभिन्न दलहरु उपर सोझा साझा मधेसी जनताले धेरै विश्वास गरे तर अन्ततः धोका मात्रै पाएँ,” अन्सारीले भने, “अब उत्पीडित समुदायका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु जरुरी छ। त्यो हामी गर्दैछौं।”
घोषणा कार्यक्रममा सबै सहभागी दलका नेताहरूको उपस्थिति रहनेछ भने साझा घोषणापत्र सार्वजनिक गरिने बताइएको छ।






