राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रिय सम्पदास्थलमा विकास हुनसक्ने

महोत्तरी। बर्दिवास नगरपालिका–३ को राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रकै मुख्य सम्पदास्थलका रुपमा विकास हुनसक्ने पुरातत्व तथा भूगर्भविद्ले निष्कर्ष निकालेका छन् ।

यस क्षेत्रमा मध्यपाषाण युगका हतियार र औजार बनिएका विषयको स्थलगत अध्ययन अन्वेषण गर्न आएको पुरातत्व विभागको विज्ञ टोलीले सो निष्कर्ष निकालेका हुन् । “हामीले यहाँ पाषाण युगकालीन महत्वपूर्ण सामग्री पाएका छौँ”, अन्वेषण टोलीका विज्ञ डा मञ्जिल हजारी भछन्, “प्राचीन मानव सभ्यताको खोजका लागि यो महत्वपूर्ण उपलब्धि हो ।”

अब नेपाल सरकारले पुरातत्व विभागलाई यो क्षेत्र संरक्षित गर्न तत्काल पहलकदमी बढाउन आवश्यक देखिएको उनको भनाइ छ । डा हजारी र विभागका विज्ञ भाष्कर ज्ञवालीले गत शनिबार (जेठ १० गते) देखि गरेको अध्ययन अन्वेषणको निष्कर्ष आज बर्दिवासका सरोकारवालाहरुबीच आज सार्वजनिक गरेको हो ।

विज्ञ टोलीले यसपालिको अन्वेषणमा रातु नदी पश्चिम, भब्सी नदी पूर्व, बर्दिवास–३ को गौरीडाँडा र पूर्वमोडिएको भब्सी नदीको भागबाट उत्तर एवं राइमण्डलडाँडादेखि दक्षिणको सात दशमलव पाँच वर्ग किलोमिटरको क्षेत्रभित्र अध्ययन अन्वेषण गरेको जानकारी दिएको छ ।

“मध्यपाषाण युगकालीन हतियार र औजार फेला परेको मुलुककै यो ठूलो क्षेत्र हो”, विज्ञ ज्ञवाली भन्छन्, “यसले मध्यपाषण युगकालीन इतिहास र मानव सभ्यता बुझ्न, अध्ययन गर्न नयाँ अध्याय थपेको छ ।”

विज्ञ टोलीले यहाँ यसपाली १८ प्रकारका विभिन्न हतियार र औजार तथा सात प्रकारका ती यस्ता सामग्री बनाइन प्रयोग गरिएका औजारसहित २५ प्रकारका ढुङ्गे औजार फेला पारेको छ ।

प्राप्त सामग्रीमा त्यतिखेर प्रयोग भएका छुरा, खुकुरी, खुँडा, घुयत्रोसहितका ढुङ्गे हतियार र छिनो, गल, मुङ्ग्रोजस्ता औजार फेला परेका डा हजारीले देखाए। यी औजार र हतियार कामका विविध क्षेत्रअनुसार प्रयोगमा आउने खालका रहेका डा हजारीको भनाइ छ ।

“ढुङ्गे युगपछि फलामे र अन्य धातुका औजार र हतियार बन्न थाले, तर यी नयाँ औजार र हतियार आकार, प्रकार र उपयोगिताको दृष्टिले ढुङ्गे औजार र हतियारकै निरन्तरता हुन्”, डा हजारीले भने।
अब सन् १९८० को दशकमा जर्मन अन्वेषक गुड्न कर्विन्सको अध्ययनलाई पछ्याउँदै अन्वेषण गरिँदै जाँदा क्रमशः नयाँ नयाँ तथ्य फेला पर्दै जाने डा हजारीको विश्वास छ ।

आजभन्दा साढे चार दशक पहिले सन् १९८० को दशकमा जर्मन अन्वेषक तथा भूगर्भविद् गुडन कर्विन्सले गरेको अध्ययनले यस ठाउँबारे नयाँ अन्वेषणको ढोका खोलेको विज्ञ टोलीको भनाइ छ । “कर्विन्सले एक दशकभन्दा बढी समय लगाएर यहाँ गर्नुभएको अन्वेषणले पहिलो चासो बढेको हो”, भूगर्भविद् ज्ञवाली भन्छन्, “अहिले हामीले पछ्याएको उहाँकै अध्ययन प्रतिवेदन हो ।”

कर्विन्सले यहाँको अन्वेषणपछि प्रकाशित गर्र्नुभएको ‘प्रि हिष्टोरिक कल्चर्स इन नेपाल’ कृतिमा पाटु तथा राइमण्डल क्षेत्रमा मध्यपाषाण युगमा औजार र हतियार बनाउने कारखाना रहेको प्रकाश पारेको थियो ।

कर्विन्सको कृति प्रकाशन भए पनि यसबारे थप अध्ययन अन्वेषणमा चासो नबढेपछि करिब दुई वर्ष पहिले बर्दिवास उद्योग वाणिज्य सङ्घको अगुवाइमा १० सामाजिक संस्थाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाको खोज गर्न गरेका पदयात्राको प्रतिवेदन सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई बुझाएपछि यसबारे थप अध्ययन अन्वेषणको कामले पहलकदमी लिएको हो ।

यस क्रममा यसपालि चालु आर्थिक वर्ष २०८१÷८२ मै केन्द्र र प्रदेश सरकारले रातु राइमण्डल पुरातात्विक अध्ययनका लागि बजेटमै सम्बोधन गरेपछि बर्दिवास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिको तत्परतामा अहिले पुरातत्व विभागले अन्वेषण गरेको हो ।

विज्ञ टोलीले यस पटक गरिएका अध्ययन र अन्वेषणका नतिजा पुरातत्व विभागमा पु¥याइ राष्ट्रिय सङ्ग्रहालयमा राखिने जनाएको छ । यसअघि कर्विन्सले फेला पानुभएका केही औजार र हतियार पनि विभागले सङ्ग्रहालयमा प्रदर्शनीमा राखिसकेको छ ।

विज्ञटोलीको निष्कर्षपछि बर्दिवासवासीले यो क्षेत्रको अध्ययन अन्वेषणको कामलाई निरन्तरता दिन तीनै तहका सरकार र पुरातत्व विभागको थप पहलकदमी हुनपर्ने औँल्याएका छन् । “अब यो अन्वेषणको कामले निरन्तरता पाउनुपर्छ, अघिल्ला कामबारे थप योजना बनुन्”, बर्दिवास–३ पाटुकै बासिन्दा अगुवा सामाजिक कार्यकर्ता सुदर्शन घिमिरे भन्छन्, “यसले हाम्रो बृहत सम्भावना देखाइरहेको छ ।”

पुरातत्व विभागको टोलीले अन्वेषण निष्कर्ष सार्वजनिक गरेपछि अब यसअघिका काम प्रदेश तथा केन्द्र सरकार र पुरातत्व विभागसँगको आपसी समन्वयमा अघि बढ्ने नगरका प्रमुख प्रहलादकुमार क्षत्रीको प्रतिबद्धता छ ।

प्रतिक्रिया