सरकारद्वारा मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको स्रोतले बताएको छ ।

यसैगरी ‘उपदफा १ बमोजिमको अवधिभित्र विपदबाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन सक्ने,’ पनि उल्लेख छ ।

स्थानीय स्तरको पहलबाट समाधान हुन नसक्ने खानेपानी, कृषि तथा सिंचाइजन्य समस्या समाधानका लागि प्रदेश तथा केन्द्र सरकारबाट गर्ने निर्णय पनि भएको छ । तर त्यसका लागि मधेश प्रदेशका सबै जिल्लाका विपद व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय हुनुपर्ने निर्णय भएको थियो । सो निर्णय अनुसारको विवरण गृह मन्त्रालयमार्फत् प्रधानमन्त्री कार्यालयमा उपलब्ध गराउने निर्णय समेत सचिव बैठकबाट भएको छ ।

मधेशमा पानीको समस्या भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन टोली पठाउने निर्णय समेत गरेको छ । हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय एवम् विकल्प अध्ययन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया