‘सम्धी’ को थोथ्रो गाडीमा हंसपुरका मेयर प्रदिपको मोह: हाकिमले रद्द गरे पनि पटक–पटक सम्झौता

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाकी उपप्रमुख दुर्गी देवी मण्डल चढ्ने गाडीको सम्झौता तत्कालिन प्रमुख प्रशासकिय अधिकृत केशव अधिकारीले रद्द गरेपनि पुनः सम्झौता गरिएको बुझिएको छ ।
अधिकृत अधिकारीले २०८१ असोज २९ गते सम्झौता रद्द गरेका थिए । सवारीधनी अर्थात् नगर प्रमुख प्रदिप यादवको नातेदार राहुल यादवको नाममा सम्झौता रद्द गरिएको पत्र पठाइएको थियो । तर, उक्त सवारीसाधन नगर प्रमुख यादवको आफ्नै नातेदारको भएको हुनाले पुनः हाल कार्यरत प्रमुख प्रशासकिय अधिकृत सर्वजित झालाई जोडबल गर्दै पुनः सम्झौता गर्न लगाइएको खुलेको छ ।

‘हो, अहिले फेरि त्यही गाडी सम्झौता भएको छ । जिल्ला दर रेटकै अधारमा सम्झौता गरिएको छ,’उनले भने,‘यस विषयमा थप कुरा बुझ्नु परे कार्यालयमा आएर सम्पर्क गुर्नस् । फोनमा धेरै कुरा भन्न मिल्दैनन् ।’ तर, नगर प्रमुख यादवले सामाजिक सञ्जालमार्फत् उक्त गाडीमा आफ्नो कुनै सरोकार नरहेको प्रष्टीकरण दिएका छन् ।
बा. १६ च ९२६ नम्बरको उक्त सुमो गोल्ड महोत्तरी लोहरपट्टी नगरपालिका ३ का डा. राहुलको रहेको फेसबुकमा उल्लेख गरेका छन् । तर, नगर प्रमुख यादवले राहुलको थर भने खुलाएका छैनन् । नातेदार पुष्टी हुने अशंकाले थर लुकाइएको बुझिएको छ ।
उक्त थोथ्रो गाडीका लागि पालिकाले ८० हजार मासिक बुझाउँदै आएको छ । उपप्रमुखले थोत्रो गाडी नचढ्ने भनेपछि नगर प्रमुखको स्वार्थ बाहिर आएको हो ।
यो पनि : हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै
हंसपुरमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका एक अधिकृतले भने, ‘मेरै पालमा दुईचोटी उपप्रमुख मण्डलले गाडीको साँचो फ्याकेर निस्केकी थिइन् । मैलै पनि उपप्रमुखले चढ्न नमानेको गाडी नराख्ने कुरा पनि गरेको थिए । तर मेयरले त्यही गाडी राख्न जोडबल गरेपछि त्यो गाडी मेयरकै रहेको प्रष्ट भएको थियो ।’






