अश्विनले गरे आईपीएलबाट सन्यासको घोषणा

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर रविचंद्रन अश्विनले इन्डियन प्रीमियर लीग (आईपीएल) बाट सन्यासको घोषणा गरेका छन् ।
बुधवार अश्विनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आजको दिन विशेष छ र यसको सुरुआत पनि विशेष छ । भनिन्छ, हरेक अन्त्यसँगै एउटा नयाँ सुरुआत हुन्छ । मेरो समय एकजना आईपीएल क्रिकेटरको रूपमा आज सकिँदैछ । तर, अब मेरो यात्रा फरक–फरक लिगमा खेलको सम्भावनालाई नयाँ रूपमा बुझ्ने खालले सुरु हुँदैछ ।”
अश्विनले भने, “वर्षौदेखि पाएको शानदार यादहरू र सम्बन्धका लागि म सबै फ्रेन्चाइजीलाई धन्यवाद दिन चाहन्छु ।”
अश्विन, आईपीएलमा पाँचौँ सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनले ७.२ को इकोनमी रेटले १८७ विकेट लिएका छन् ।
आईपीएलमा चेन्नई सुपर किङग्स (सीएसके) बाट यात्रा सुरु गरेका उनले अन्तिमपटक पनि सीएसके कै टिममा थिए ।
त्यसबाहेक उनले राइजिङ्ग पुणे सुपरजायन्ट, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका लागि पनि खेले र किङ्ग्स इलेभन पञ्जाब (हाल पञ्जाब किङ्ग्स) को कप्तानी पनि गरेका थिए ।






