आसेपासे भर्ती गर्न पुराना करारका कर्मचारी हटाउँदै मधेसका पर्यटन मन्त्री कुशवाहा

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिझका तपेश्वर महरा करिब ७ वर्षदेखि जनकपुरधामस्थित मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा हलुका सवारी चालकका रूपमा कार्यरत छन् । मन्त्रीदेखि कार्यालयसम्मको गाडी चलाउँदै आएका महरा र उनका सहकर्मीलाई गत साउनको पहिलो सातादेखि कार्यालयमा नआउन भनिएको छ ।
महराका अनुसार मन्त्रालयका प्रशासन अधिकृत उपेन्द्र महतोले,–‘अब तिमीहरूको करार अवधि थपिँदैन’ भनेर जानकारी दिएका हुन् । यद्यपी उनी हाल मन्त्रालयका इन्जिनियरको चालकका रूपमा निरन्तर काम गरिरहेका छन् ।
सोही मन्त्रालयमा कार्यरत धनुषाधाम नगरपालिका–७ का श्रीराम यादवले पनि करार अवधि नथपिएको बताए । ‘मन्त्रीज्यूले नै करार अवधि नथप्न भनेको सचिव ज्यूले भन्नुभयो । उहाँले यो आफ्नो हातमा नभएको र मैले केही नगरेको पनि भन्नुहुन्छ’ यादवले दुखेसो सुनाए ।
जनकपुरधाम उपमहानगरपालिका–२० का कार्यालय सहयोगी विपतिया राउतले नियुक्तिपत्र नै नपाए पनि हाजिरी गरिरहेको बताउँछन् । ‘सचिव सरले भन्नुहुन्छ मन्त्रीज्यूलाई भन तिमीहरूको करार अवधि थप्नका लागि अनि मात्र केही हुन्छ’ उनले पनि दुखेसो सुनाए ।
विपतिया जस्तै समस्यामा परेका सर्लाहीको कोडैना गाउँपालिका–१ का रामकृष्ण यादवले पनि करार सेवामा कार्यरत सबैलाई हटाउने निर्णय मन्त्रीज्यूकै निर्देशनमा भएको जानकारी पाएको बताउँछन् । उनी पनि सचिवले भनेको कुरा जस्ताको त्यस्तै सुनाउँछन् । ‘तपाईंहरू नियुक्ति पत्र बिना कार्यालयमा नआउनुस् । आउनुछ भने सेवा करार अवधि थप गराएरै आउनुस्, वा थपिएन भने त्यसको लागि आन्दोलन गर्नुछ भने गर्नुस्’ यादवले भने ।
यो पनिःरोजगार दिन्छु भन्ने जनमतका मन्त्रीले सात दर्जनभन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउँदै
माथी उल्लेख गरिएको दुखेसो त्यस मन्त्रालय र मातहतका कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरूको छ । करिब आधा दशकदेखि उनीहरू मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा कार्यरत छन् । तर गत आर्थिक वर्षमा मन्त्री बनेका बसन्त कुशवाहाले हटाउन भनेपछि उनीहरु समस्यामा परेका हुन् ।
समस्यामा पर्नेहरूमा कार्यालय सहयोगी, गाडी चालक, सहायक कम्प्युटर अपरेटरलगायतका छन् । उनीहरूलाई बिना कारण हटाउन लागिएको मन्त्रालयका सचिव जय कुमार घिमिरेको भनाइ छ ।
कर्मचारीको नियुक्ति सचिव घिमिरेले नै गर्नुपर्ने भएपनि मन्त्रीको मनपरीले ती कर्मचारीहरु बिचल्लीमा पर्ने भएका छन् ।
यता नेपाल निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले मन्त्रीले आफ्नो आसेपासेलाई भर्ती गर्न पुराना कर्मचारीहरूलाई हटाउन लगाएको आरोप लगाउँछन् । मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई हटाउन लागेको निर्णयप्रति पौडेलले आपत्ति जनाए । उनी भन्छन्,–‘विधि र प्रक्रिया पूरा गरेर आएका कर्मचारीलाई मनपरी गरेर हटाउन पाइँदैन । काम गरेको कर्मचारीको कार्यसम्पादन मूल्यांकल खराब भए हटाउन सकियो, तर बिना कारण हटाउनु अन्याय हो ।’
उनले मन्त्री आफैँले बनाएको कानून पालना नगरे ती करारका कर्मचारीका लागि हामी आन्दोलित हुने चेतावनीसमेत दिए । संघीयताको सुरुवाती दिनदेखि इमानदारीपूर्वक काम गरेका कर्मचारीलाई हटाउनु न्यायोचित नहुने अध्यक्ष पौडेलको भनाइ छ ।
मन्त्रालय अन्तर्गतका १४ वटा कार्यालयमा हाल ८० जनाभन्दा बढी सेवा करारमा कर्मचारीहरू कार्यरत छन् । तर मुलुक आर्थिक संकटमा रहेको बेला कार्यरत कसैको भविष्यसँग खेलवाड गर्न नपाइने अध्यक्ष पौडेलको भनाइ छ ।






