मुख्यमन्त्री सिंहको फेसबुकमा राजीनामाको ‘प्रपञ्च’

जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री सतिश कुमार सिंहले जेनजी आन्दोलनकारीको सहानुभूति लिन र निसानाबाट जोगिन राजीनामाको ‘प्रपञ्च’ रचेको खुलेको छ । जेनजी प्रदर्शनकारीहरुले जनकपुरमा सरकारी कार्यालय र खोजीखोजी नेताको घरमा आगजनी गरिरहेको बेला भदौ २४ गते उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका थिए ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा वक्तव्य जारी गर्दै राजीनामाको घोषणा गरेपछि विभिन्न सञ्चार माध्यममा समाचार पनि प्रकाशन प्रसारण भएको थियो । तर, उनले राजीनामा गरेको चारदिन बितिसक्दा पनि आधिकारिक रूपमा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र नपठाएको खुलेको छ ।
‘
नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, उनले फेसबुक मार्फत घोषणा गरेको राजीनामा वक्तव्यमा उल्लेख छ ।
मुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।
‘मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिएको कुरा उनको फेसबुक र विभिन्न समाचार माध्यमा हेरेको थिए । तर, अहिलेसम्म मुख्यमन्त्रीको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन,’ प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवले भने । उनका अनुसार मुख्यमन्त्रीको राजीनामा पत्र न त प्रदेश प्रमुखको कार्यालयमा आएको छ न त प्रमुखको निजी सचिवालयमा, उनको राजीनामाको विषयमा बाहिर हल्ला मात्रै भएको छ ।
प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजिनामा दिएपछि मात्रै स्वीकृत हुने हो । तर राजीनामा पत्र नै नपठाइएकोले कानुनी रुपमा उनको हालसम्म उनको मुख्यमन्त्री पद कायमै रहेको छ ।
२५ जेठ २०८१ मा नेकपा माओवादी केन्द्र लगायत ६ दलको समर्थनमा जनमतका सतिशसिंह मुख्यमन्त्री बनेका थिए । पछि संघमा नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि प्रदेशबाट माओवादी बाहिरिएका थिए । अहिले नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाज वादी पार्टी (लोसपा)ले उनलाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।






