छिन्नमस्तमा दुई लाख भक्तजनद्वारा दर्शन

राजविराज (सप्तरी) । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
मन्दिरका पीठाधीश महाकान्त ठाकुरले घटस्थापनादेखि आज छैठाँै दिनसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको बताए।
यहाँ विशेषगरी सप्तमी, अष्टमी र महानवमीका दिन भक्तजनको अत्यधिक भीड लाग्ने गर्दछ । यी तीन नेपाल तथा भारतका करिब १० लाख भक्तजनले पूजाआजा गर्ने अनुमान रहेको महाकान्त ठाकुरले बताए ।
गाउँपालिका अध्यक्ष विद्ययानन्द चौधरीले यहाँ आउने जनको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाइएको बताए। उनले छिन्नमस्ता गाउँपालिका–३ स्थित मन्दिरमा आउने भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा ३२ वटा सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगारानी गरिरहेको बताए।
यहाँ मन्दिर बाहिर गाउँपालिकाको सहयोगमा थप १६ वटा गरी ४८ वटा सिसिटिभी क्यामेरामार्फत निगरानी भइरहेको छ ।
सप्तरी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतमकुमार केसीले सुरक्षा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरिएको बताए। दसँैंको बेला हुने अत्यधिक भीडभाडका क्रममा आपराधिक घट्ना हुन नदिन प्रहरी चनाखो रहने बताए।






