जानकी मेडिकल कलेजलाई कारबाही गर्न माग, चिट चोरीबाट डाक्टर उत्पादन गर्दै आएको आरोप

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाले कलेजको २१ बुँदे कमजोरी औँल्याउँदै चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) लाई छानबिनसहित कारबाही गर्न मागसहित सिफारिस गरेको छ ।
केहीदिन अघि नगरपालिकाले गरेको सिफारिसमा कलेजले सरकारको कर तिर्न अटेरी गर्नेदेखि कानूनको पालना नगर्ने तथा डाक्टर उत्पादनमा पनि गम्भीर लापरबाही गर्ने गरेको पालिकाको आरोप छ । सर्वसाधारणका लागि कानूनले तोकेको सुविधा कलेजले नदिएको नगरपालिकाले आफ्नो २१ बुँदे सिफारिस पत्रमा उल्लेख गरेको छ ।
नगरपालिकाले कलेजको आईई रिपोर्ट तथा वातावरण परीक्षण प्रतिवेदन नभएको सिफारिस गरेको छ । कलेजले बिरामीलाई नियमानुसर दिनुपर्ने १० प्रतिशत छुट प्रदान नगरेको, कलेजको फोहोर व्यवस्थापनका लागि डम्पिङग साईटको व्यवस्थापन नगरेको, नगरपालिकाको नियमानुसार व्यवसाय दर्ता नवीकरण नगरेको तथा सालवसाली व्यवसाय कर नतिरेको, घर नक्सा अभिलेख नगरेको नगरपालिकाको सिफारिसमा उल्लेख छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर साहले लेखेको सिफारिसमा कलेजमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले तोके अनुसार न्यूनतम पारिश्रमिक व्यवस्थापन नगरेको, होस्टेल व्यवस्थापन नभएको, कलेज सञ्चालनका लागि नियमानुसार हुनुपर्ने जग्गाको उपलब्धता नगरेको, कलेजको बैठक तथा छात्रवृत्ति परीक्षा सञ्चालन हुँदा नगरपालिकाको प्रतिनिधि माग नगरेको, कलेजले आफैँले सञ्चालन गर्नुपर्ने ठाउँमा पसल भाडामा लगाएको र त्यसमा मान्यता प्राप्त कर्मचारी नरहेको, एनएमसीको सूचना अनुसार फ्याक्लटीलाई छ महिनाको तलब बैंक अनुसार दिनुपर्नेमा नदिएको, कुनै पनि डिपार्टमेन्टमा आवश्यक र एनएमसी दर्ता अनुसार पूर्ण फ्याक्लटी नभएको, बिना फ्याक्ल्टी नै डिपार्टमेन्ट र कक्षा सञ्चालन गराई रहेको, मेडिकल कलेज सञ्चालनको आवश्यक पूर्वाधार नरहेको पनि पत्रमा उल्लेख छ ।
चिकित्सक उत्पादन गर्ने सो कलेजले परीक्षामा चिट चोरी गर्न बाहिरको मान्छे ल्याएर डाक्टर उत्पादन गर्ने गरेको गम्भीर आरोप पनि लगाइएको छ । कलेजको परीक्षा हलमा चिट चोरी गरेको रेकर्ड आइओएमसँग रहेको हुँदा सोही आधारमा छानबिन गर्न भनिएको छ ।
यस्तै आवश्यक फ्याक्लटी नभएका कारणले गर्दा ईएनटी जाँचमा आएको एक्सटर्नलबिना नै परीक्षा लिई फर्केर गएको, लामो समयदेखि कर्मचारीको संचयकोष वापतको पैसा जम्मा नगरेको, कर्मचारीलाई १२ महिनाको तलब नदिएको र कर्मचारीले मागेमा हटाउने जस्ता भय देखाएर शोषणा गरिरहेको सिफारिस पत्रमा उल्लेख छ ।
यस्तै कलेजले बैंकसँग पनि फ्रड गरेको उक्त सिफारिस पत्रमा उल्लेख छ । ल्याब टेष्टमा पनि सर्वसाधारणसँग मनपरी शुल्क असुल्ने गरेको विषयमा आइओएमलाई छानविन गर्न माग गरिएको छ ।
त्यस्तै कलेजको भवन कमसल रहेकोले आइओएम यसप्रति गम्भीर हुनुपर्ने माग गरिएको छ । संस्थानले कलेजको उक्त भवनको विषयमा गम्भीर नभए त्यसको जवाफदेही हुनुपर्ने नगरपालिकाले भनेको छ ।
त्यस्तै नगरपालिकाले आफूलाई कलेजले अटेर गरेको समेत बताएको छ ।






