मन्त्री कुलमानलाई ट्याग गर्दै जेनजी वडाध्यक्षको आक्रोश-“सा-ला भेजा तातिसक्यो”

काठमाडौं। संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री समेत रहेका कुलमान घिसिंगलाई ट्याग गर्दै एक जेन–जी वडाध्यक्षले सामाजिक सञ्जालमार्फत कडा आक्रोश प्रकट गरेका छन्। पुल तथा सडक निर्माणका सुस्त र अव्यवस्थित प्रक्रियाप्रति आक्रोश पोख्दै उनले ‘सा-ला भेजा तातिसक्यो’ भन्दै असन्तुष्टि जाहेर गरेका हुन्।

सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सरोज यादवले यस्तो आक्रोश पोखेका छन्। मन्त्रालय, सडक विभाग तथा विभिन्न सरकारी कार्यालय धाएर पनि सामान्य कामसमेत समयमा हुन नसक्ने व्यवस्था नै समस्या हो, उनले फेसबुकमा लेखेको स्टाटस्मा लेखिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयअगाडि खिचिएको आफ्नो फोटो, वडामा निर्माणाधीन पुलको छोटो भिडियो र टिप्पणी फाईल लेखिएको फाईलको तस्वीरसमेत सार्वजनिक गर्दै उनले फेसबुकमा कडा आक्रोश पोखेका छन्।

उनले लेखेका छन्, “उफ्फ, कालो जुत्ता सेतो भैसक्यो मन्त्रालयदेखि सडक–पुल विभाग धाउँदै। एक दिनमै हुनसक्ने काम महिनौँ लाग्ने टोरिलो प्रक्रिया छ। दश करोड लागतको पुलका लागि २० लाख मात्रै बजेट विनियोजन गर्छन्। यस्तो कानून र कार्यविधि बनाएका कारण एक महिनामा पनि काम अघि बढ्दैन।”

नदीमा हिलो लाग्दा समेत गा-ली खाने बाध्यता रहेको भन्दै उनले आफू वडाध्यक्ष भएर पनि दिनभर भौतिक, सहरी, सञ्चार लगायत विभिन्न मन्त्रालय धाउनुपरेको गुनासो पोखेका छन्।

उनले लेखेका छन्, “वडाध्यक्ष बस्नुपर्ने वडा कार्यालय म खाली छ, मचाहिँ पुल र सडकका लागि घरी भौतिक मन्त्रालय, घरी सहरी, घरी सञ्चार धाउँदै। मन्त्रीले विभागमा गर्दा पनि यो मिलेन, त्यो मिलेन… सा-ला भेजा तातिसक्यो।”

सरकारी कामको ढिलासुस्ती, बजेटको असमान विनियोजन र प्रक्रिया जटिलताप्रति वडाध्यक्षले व्यक्त गरेको उनको सार्वजनिक रोष अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै गएको छ।

प्रतिक्रिया