मधेशमा प्रादेशिक निजामती विद्यालय निर्माण गर्न जग्गा उपलब्ध गराउन मन्त्रालयको आह्वान

जनकपुरधाम। मधेश प्रदेश सरकारले प्रादेशिक निजामती विद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा उपलब्ध गराउन स्थानीय तहहरूसँग आवेदन आह्वान गरेको छ।

शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रादेशिक निजामती विद्यालय निर्माण तथा व्यवस्थापन सञ्चालन गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरेको हो।

सूचनाअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधामको सिमाना भित्र पर्ने स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र उक्त विद्यालय निर्माण गर्न इच्छुक भएमा कम्तीमा एक बिघा जग्गा उपलब्ध गराउनुपर्नेछ। राजधानी क्षेत्रको सीमा उत्तरमा ढल्केवर, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिणमा नेपाल–भारतको सीमाना तोकिएको छ।

इच्छुक स्थानीय तहहरूले जग्गाको आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयमा आवेदन पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया