क्षिरेश्वरका मेयर यादवले अझ नमूना बनाउँदै रमदैया विद्यालय, १ करोड ५९ लाखको बन्दै

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवको सक्रियतामा माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडी थप नमूना बन्ने भएको छ। नेपाल सरकारको विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयद्वारा लामो समयदेखि नमूना विद्यालयको सूचीमा समावेश यो विद्यालयलाई नगरपालिकाले निरन्तर उक्त सूचीमा कायम प्राथमिकतामा राख्दै आएको छ।
सोही अन्तर्गत विद्यालयले मंगलबार करिब १ करोड ५९ लाख ९१ हजार रुपैयाँभन्दा बढी लागतमा दुईतल्ले आठ कोठे भवन निर्माणका लागि टेण्डर आह्वान गरेको छ। विद्यालयका केही पुराना भवनहरू जीर्ण बन्दै गएपछि मेयर यादवले बजेटको समयमै सही सदुपयोग गर्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिएपछि अध्यक्ष जगदीश यादवको पहलमा भवन निर्माण प्रक्रिया अघि बढाइएको हो।
दश जोड दुई तहसम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालयलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, डिजिटल प्रविधिमार्फत पठनपाठन, बालबालिकाका लागि खेलकुदका विभिन्न सुविधाहरूको व्यवस्था गरेको छ।
हाल विद्यालयमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायअन्तर्गत अध्ययन–अध्यापन हुँदै आएको छ।






