धनुषाधामका मेयरको दादागिरीः कर्मचारीमाथि कार्यकक्षमै कुटपिट र ज्यान मार्ने’ धम्की

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले कर्मचारीमाथि भौतिक आक्रमण र अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत सहायक कर्मचारी सुरेश कुमार मण्डललाई मेयरले कार्यालयभित्रै कुटपिट गरेका हुन् । कार्यालयको कामकाजको क्रममा फाइलको साँचो सम्बन्धी सामान्य विषयमा विवाद भएपछि आक्रोशित बनेका मेयर मण्डलले सहायक कर्मचारीलाई गालीगलौज गर्दै “ मारिदिन्छु भनेर जाइलागेका थिए ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार मेयर निकै उग्र रूपमा प्रस्तुत भएका थिए । मेयरले अन्धाधुन्ध कुटपिट गर्न थालेपछि कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूले बचाउ गरेका थिए । सहकर्मीहरूले समयमै हस्तक्षेप नगरेको भए घटनाले गम्भीर मोड लिन सक्ने र ज्यान नै जोखिममा पर्ने अवस्था रहेको पीडित पक्षले जनाएको छ ।
घटनापछि स्थिति तनावपूर्ण बनेपछि धनुषाधाम र सबैलाबाट खटिएको प्रहरी टोलीले पीडित कर्मचारीको उद्धार गरेको थियो । कुटपिटबाट त्रसित बनेका कर्मचारी सुरेश कुमार मण्डलले आफ्नो ज्यानको असुरक्षा भएको भन्दै जिल्ला प्रशासन कार्यालय, धनुषामा उजुरी दर्ता गराएका छन् ।
उनले नगरप्रमुखमाथि आवश्यक छानबिन गरी कडा कानुनी कारवाही गर्न र कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।






