क्षिरेश्वरनाथ नगरपालिकाका मेयर एक्सनमा, बोर्डिङ स्कुललाई दिए यस्तो चेतावनी!

जनकपुरधाम । अहिले साँझको सवाँ ६ बज्दा करिब १२ घण्टा पहिले यादवजी फेसबुक भएको एक युवाले क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत रहेको नीजि विद्यालयले बालबालिकालाई असुरक्षित रुपमा ढंगले ओसारिरहेको भिडियो हाल्छन्। नभन्दै उक्त कुरा विषय नगरपालिकाको जनप्रतिनिधि र शिक्षा प्रशासनको ध्यानाकर्षण हुन्छ। र कार्यालय बन्द हुनै लाग्दा कारवाही गरिने सूचना आउँछ।
उक्त सूचना नगरपालिकाका मेयर सुकदेव यादवको निर्देशनपछि प्रकाशन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर यादवले बताए। उनका अनुसार सामाजिक संजालमा असुरक्षित रुपमा बालबालिकालाई ओसार्ने काम गरेपछि सो विषयमा नगर प्रमुख र नगरपालिका गम्भिर भई कारवाही गर्ने चेतावनी दिएको हो।
नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूले विद्यालय बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी ओसारपसार गरेको विषयमा नगरपालिकाले चासो देखाउँदै कारबाहीको चेतावनी दिएको छ।

नगरपालिकाले उक्त सूचना सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई शिक्षा नियमावली २०५९ को परिच्छेद १५ को (२) अनुसार कक्षाकोठा तथा यातायात व्यवस्थापन गर्न निर्देशन दिएको छ।
नगरपालिकाद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार प्रत्येक कक्षामा न्यूनतम २२, अधिकतम ४४ र औसत ३३ विद्यार्थी संख्या हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै विद्यालयका सवारी साधनमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर ओसारपसार गरिएको गुनासो सामाजिक सञ्जालमार्फत प्राप्त भएकाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
नगरपालिकाले शिक्षा ऐन तथा नियमावली विपरीत कार्य गरेको पाइए नियमानुसार कारबाही गरिने चेतावनी दिएको छ।
भिडियो सार्वजनिक गर्ने युवाले फेसबुकमा “शारदा स्कुलको चरम लापरवाही, सिट क्षमताभन्दा बढी विद्यार्थी हाल्नु कतिको कानुनसम्मत हो ? जहाँ अनुशासन सिकाइन्छ, त्यहीँ आफैं अनुशासन छैन। यसरी बढी विद्यार्थी हालेर जिन्दगीसँग खेलवाड गर्ने अधिकार कसले दियो ? पैसा मात्र लिने कि विद्यार्थीको जीवनबारे पनि सोच्ने ?” भन्दै आक्रोश व्यक्त गरेका थिए।






