सुकुम्बासी हटाउने सूचनाविरुद्ध महेन्द्रनगरमा आन्दोलन, जनकपुर–ढल्केवर सडक अवरुद्ध

जनकपुरधाम । धनुषाको महेन्द्रनगर पनि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका छन्। क्षिरेश्वरनाथ नगरपालिकाले नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि स्थानीय सुकुम्बासीहरु आन्दोलित बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले जानकारी दिएका हुन्।
आन्दोलनकारीहरुले शुक्रबार बिहानै जनकपुर–ढल्केवर सडक खण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। सडक जामका कारण आवतजावत प्रभावित भएको छ।
क्षिरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना प्रकाशित गर्दै नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा बनेका घर, टहरा लगायतका संरचना ७ दिनभित्र खाली गर्न आग्रह गरेको थियो।

नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमित भूभाग खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाउने चेतावनी समेत दिएको छ। उक्त सूचनापछि प्रभावित स्थानीयहरु आफूहरुको बसोबासको वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।






