दुवाकोटमा इनर ह्वील क्लब बालाजु र कर्ण कायस्थ महिला समाजद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । भक्तपुरको दुवाकोटमा सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य जाँच तथा क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ ।
इनर ह्वील क्लब बालाजुको आयोजन र कर्ण कायस्थ महिला समाजको सहआयोजनमा भएको उक्त शिविरमा १ सय ५० जनाले स्वास्थ्य जाँच गराएका थिए ।
इनर ह्वील क्लब बालाजुकी अध्यक्ष मन्दिरा श्रेष्ठले विश्वव्यापी रूपमा बढ्दै गरेको क्यान्सर रोगको समयमै पहिचान हुन नसक्दा बर्सेनि हजारौं नेपालीको मृत्यु भइरहेको हुँदा यसको समयमै पहिचानका लागि शिविर आयोजना गरिएको बताइन् ।

स्वास्थ्य चौकी दुवाकोट–२ मा आयोजना गरिएको शिविरमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच तथा परामर्श सेवा प्रदान गरिएको श्रेष्ठले बताइन् ।
जनतालाई स्वस्थ राख्नुपर्छ भन्ने उदेश्यका साथ आफुहरूले क्लबमार्फत स्वास्थ्य शिविर राखेर स्वास्थ सेवा दिन सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

शिविरमा काठमाडौं क्यान्सर सेन्टरले चिकित्सकसहित प्राविधिक सहयोग गरेको थियो ।
स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक भएकाले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सर रोगबारे सचेतना अभिवृद्धि गर्न शिविर आयोजना गरिएको कर्ण कायस्थ महिला समाजकी अध्यक्ष पुनम दासले बताइन् ।
महिला स्वथ भए परिवार र समाज स्वथ रहने दासको भनाइ छ ।
इनर व्हील क्लब बालाजुकी अध्यक्ष मन्दीरा श्रेष्ठको भित्री चाहनालाई आत्मसात गर्दै कर्ण कायस्थ महिला समाजले बर्सेनि बढ्दै गएको क्यान्सर सम्बन्धी जोखिमलाई कम गर्न यो मेगा हेल्थ क्याम्पका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताइन् ।

क्यान्सर रोगको समयमै पहिचान र उपचारले जटिलता कम गर्न सहयोग पुग्ने भएकाले सर्वसाधारणले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराएको काठमाडौं क्यान्सर सेन्टरका प्रशासन प्रमुख वर्षा कोइरालाले बताइन् ।
पछिल्लो समय नेपालमा महिलाहरूमा पाठेघरको मुखको क्यानसर र स्तन क्यान्सरको जोखिम उच्च रहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।

महिलाहरूमा क्यान्सरको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेको कारणले शिविरमा स्वास्थ्य जाँच गराउन आएको शिविरमा सहभागी भएका महिलाहरूले बताए ।
घर दैलोमा स्वास्थ्य शिविर आयोजन हुँदा स्थानीयले खुशी व्यक्त गरे ।






