रास्वपा जनकपुरधाम उपमहानगरका सभापतिमा पुनः नायक बहुमतले चयन

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का जनकपुरधाम उपमहानगरपालिकाको नगरसभापतिमा पुनः ललन नायक बहुमतले चयन भएका छन्। मंगलबार बिहान साढे ८ बजे बन्सी चोकस्थित रास्वपाको जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उनलाई चयन गरेको छ।

उपमहानगरपालिकाको सम्पन्न २१ वटा वडाको अधिवेशनले चयन वडा सभापतिहरु मध्ये १६ जनाको समर्थनमा नायक सभापति बनेका हुन्। यता आकांक्षी जितेन्द्र महासेठको पक्षमा पाँच जनाले समर्थन जनाएका थिए । निर्वाचन समितिका सदस्यहरु पंकज ठाकुर टिपु सुल्तानिया र सुमित नायकको रोहबरमा नायक सभापतिमा चुनिएका हुन् । उपमहानगरपालिकामा २५ वटा वडा रहेका छन्। जसमध्ये सहमति जुट्न नसक्दा चार वटा वठाको अधिवेशन सम्पन्न हुन सकेको छैन्।

सभापतिका लागि गत आइतबार नै नगरको अधिवेशनबाट सभापति चयन गर्न जनकपुरधामस्थित एक होटल बैठक बसेको थियो । तर आकांक्षी करिब ३४ जना भएपछि निर्वाचनको कार्यक्रम स्थगित गरिएको थियो ।

-रास्वपा जनकपुर उपमहानगरको सभापतिमा ३४ जनाको दाबी

नायकले अघिल्लो कार्यकालमा संगठन विस्तार, पार्टी गतिविधि सञ्चालन तथा नेता–कार्यकर्तासँगको समन्वयमा देखाएको सक्रियताका आधारमा पुनः नेतृत्वको अवसर पाएको एकजना वडा सभापतिले बताएका छन्।

“संगठन निर्माणमा उहाँको भूमिका प्रभावकारी रह्यो। नेता–कार्यकर्तासँगको व्यवहार र कार्यशैलीको मूल्यांकन गर्दै पुनः नेतृत्वमा ल्याउने निर्णय गरिएको हो,” एक वडा सभापतिले बताए।

यता केही वडा सभापतिहरूले महासेठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनको पक्षमा अपेक्षित समर्थन नजुटेको बताएका छन्।

निर्णय प्रक्रियापछि केही समय बैठकस्थलमा होहल्ला समेत भएको बताइएको छ। महासेठ पक्षका केही नेता कार्यकर्ताले निर्णयप्रति असन्तुष्टि जनाएपनि बहुमत वडा सभापतिहरूले उक्त निर्णयलाई स्वीकार गरी कायम राख्नुपर्ने बताएका छन्।

प्रतिक्रिया