विश्वविद्यालय स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

महोत्तरी । कृषि तथा वन विज्ञान विश्वविद्यालयको १६औँ स्थापना दिवसको अवसरमा बर्दिबासमा रक्तदानसहित विविध कार्यक्रम सम्पन्न भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को १६औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले योग तथा अध्यात्म, चराअवलोकन, रक्तदान, वृक्षारोपण र अनुसन्धान प्रदर्शनीसहित विविध कार्यक्रम सम्पन्न गरेको छ।

यस वर्षको स्थापना दिवसलाई परम्परागत कार्यक्रमभन्दा फरक ढंगले मनाउँदै कलेजले स्वास्थ्य, अध्यात्म, प्रकृति संरक्षण, सामाजिक सेवा तथा कृषि ज्ञान प्रवर्द्धनलाई समेटेर विविध सिर्जनात्मक गतिविधि सञ्चालन गरेको थियो।

कार्यक्रमको पहिलो चरणमा ूयोगिक शिक्षा र कृषिू विषयक विशेष सत्र आयोजना गरिएको थियो। उक्त अवसरमा योग, विभिन्न आसन, मुद्रा तथा ध्यान अभ्यास गरिनुका साथै चन्द्र नमस्कार प्रदर्शन गरिएको थियो। सहभागीहरूले सामूहिक रूपमा १०८ पटक गायत्री मन्त्र जप गर्दै मानसिक शान्ति, आध्यात्मिक चेतना तथा सकारात्मक ऊर्जाको अनुभूति गरेका थिए। आयोजकका अनुसार यस कार्यक्रमले स्वस्थ शरीर, शान्त मन र सन्तुलित जीवनशैलीको महत्त्वबारे सहभागीहरूलाई सचेत बनाएको थियो ।

त्यसैगरी ूचरामार्फत प्रकृतिसँगको सम्बन्धू शीर्षकमा चराअवलोकन कार्यक्रम पनि सम्पन्न भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका संयोजक देवनारायण मण्डल तथा उनको टोलीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई चराका प्रकार, पहिचान विधि, बसाइँसराइ तथा जैविक विविधतामा तिनको भूमिकाबारे जानकारी दिइएको थियो। अवलोकनका क्रममा सात प्रजातिका चराहरू पहिचान गरिएको थियो, जसमध्ये केही बसाइँसराइ गरी अन्य देशबाट नेपाल आएका चराहरू रहेका थिए।

त्यसैगरी , कलेजको मुख्य आयोजना तथा ब्लड फोर नेपाल , लियो क्लब अफ बर्दिबास समाजको सह–आयोजना, आईएएस एलसी बर्दिबास को सहकार्य तथा आरसी एग्रो होस्टेल को सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न भएको हो। कार्यक्रमलाई मधेश प्रदेश रक्त सञ्चार सेवा, जनकपुरधामले प्राविधिक सहयोग प्रदान गरेको थियो।

मानव जीवन रक्षाका लागि रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ३४ जनाले स्वेच्छिक रक्तदान गरेका थिए भने २५ जनाको रक्त समूह परीक्षण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक तथा ब्लड फोर नेपालको केन्द्रीय सदस्य अजय कुमार यादवले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

त्यसैगरी, कलेजका प्रिन्सिपल अभिषेक श्रेष्ठले आगामी दिनमा पनि समाजमुखी तथा मानव सेवासँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापना दिवसकै अवसरमा कलेज परिसरमा वृक्षारोपण तथा बगैंचा व्यवस्थापन कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुका साथै परिसरको सरसफाइ तथा हरियाली प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको कलेजले जनाएको छ।

त्यस्तै, सिकाइ र साझेदारीू कार्यक्रमअन्तर्गत अनुसन्धान प्रदर्शन तथा पोस्टर प्रदर्शनी आयोजना गरिएको थियो। मुंग खेतीसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीहरूले आफ्ना अनुसन्धानका नतिजा किसान तथा अवलोकनकर्तामाझ प्रस्तुत गरेका थिए। साथै दिगो कृषि उत्पादन तथा उन्नत खेती प्रविधिसम्बन्धी १० वटा पोस्टर प्रदर्शन गरिएका थिए।

दिनभर सञ्चालन भएका कार्यक्रमहरूको समापन साँझ दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत गरिएको थियो। सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय र प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कलेजका अनुसार यस वर्षको १६औँ स्थापना दिवसले शिक्षा, स्वास्थ्य, अध्यात्म, वातावरण संरक्षण, सामाजिक सेवा र कृषि अनुसन्धानलाई एकै थलोमा जोड्दै विश्वविद्यालयको ूसमग्र विकासू को अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गरेको छ। साथै, यस कार्यक्रमले विद्यार्थीहरूमा जिम्मेवार नागरिक, प्रकृतिप्रेमी तथा समाजसेवी नेतृत्व विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
    ट्याग: