बलवामा विपद् पूर्व डेढ करोड बढीमा बन्यो ‘सुरक्षित आश्रय स्थल’, मेयर रामविजयद्वारा उद्घाटन

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–४ तिलगढमा रु १ करोड ५६ लाख ८७ हजार ७९५ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको ‘सुरक्षित आश्रय स्थल’ (सेफ सेल्टर) एक समारोहबीच उद्घाटन गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।

वेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित Resilience Adaptation and Inclusion in Nepal (RAIN) परियोजना अन्तर्गत निर्माण गरिएको बहु–प्रकोप प्रतिरोधी भवनको उद्घाटन बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महतोले रिबन काटेर तथा शिलालेख अनावरण गरी गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले भवन निर्माणसँगै यसको संरक्षण, सुरक्षा र प्रभावकारी उपयोगमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्ने महत्वपूर्ण संरचनाका रूपमा रहेको यस भवनलाई समुदायको साझा सम्पत्तिका रूपमा संरक्षण गर्न आग्रह गर्नुभयो।

“यो भवन विपद्को समयमा नागरिकको जीवन रक्षा गर्ने महत्वपूर्ण संरचना हो। यसको सुरक्षा, संरक्षण र उचित उपयोगको जिम्मेवारी अब समुदायकै हो,” नगर प्रमुख महतोले भन्नुभयो। उहाँले भवनलाई विपद्को समयमा आश्रयस्थल तथा अन्य समयमा सामाजिक, शैक्षिक र सामुदायिक गतिविधिका लागि उपयोग गर्न सुझाव दिनुभयो।

परियोजनाअन्तर्गत भवन निर्माणमा रु १ करोड ५० लाख ५७ हजार २८४ रुपैयाँ १५ पैसा तथा खोज, उद्धार र अन्य व्यवस्थापन सामग्री खरिदमा रु ६ लाख ३० हजार ५११ रुपैयाँ १२ पैसा खर्च भएको जनाइएको छ।

२.५ तल्ले आरसीसी संरचनामा निर्माण गरिएको भवनको कुल क्षेत्रफल २ हजार ५९३ वर्गफिट रहेको छ। भवनले एकैपटक १६५ जनासम्मलाई सुरक्षित आश्रय प्रदान गर्न सक्ने क्षमता राख्छ। भवनमा अपाङ्गमैत्री र्याम्प, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हल, स्तनपान कक्ष, सुरक्षित शौचालय तथा फिल्टर गरिएको स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ।

वेलायत सरकारको Foreign, Commonwealth and Development Office (FCDO) को आर्थिक सहयोगमा सञ्चालित RAIN परियोजनाअन्तर्गत DanChurchAid (DCA) को नेतृत्व तथा People in Need (PIN) को सहकार्यमा भवन निर्माण सम्पन्न गरिएको हो। परियोजनाको स्थानीय कार्यान्वयन संस्था LI-BIRD ले गरेको जनाएको छ।

विपद्को समयमा सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै सामान्य अवस्थामा सामुदायिक सभा, तालिम, बैठक तथा शैक्षिक गतिविधि सञ्चालनका लागि समेत भवन उपयोगी हुने अपेक्षा गरिएको छ।

वडा नं. ४ का अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उप–सचिव गोमा पोखरेल ढकाल, जिल्ला सशस्त्र प्रहरी प्रमुख शेरबहादुर देउवा, पिपुल इन निड (PIN) का कार्यक्रम म्यानेजर विवेक मानन्धर, डीसीए (DCA) का कृति श्रेष्ठ, लक्ष्मण खत्रीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया