अभिनेत्री कर्णमाथि भएको व्यवहार समग्र मधेशी र कायस्थप्रतिको अपमानः सांसद कर्ण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि भएको अपमानजनक व्यवहारप्रति संसदको ध्यानाकर्षण गराएकी छिन् ।

अभिनेत्री कर्णले केही दिनअघि आफूलाई चलचित्र ‘चिरञ्जीवि भवः’को छायाङ्कनको क्रममा अपमान गर्दै निकालिएको आरोप सामाजिक सञ्जालबाट लगाउँदै न्यायको गुहार गरेको भन्दै सांसद कर्णले उक्त घटना समग्र मधेशी र कायस्थप्रतिको अपमान भएको बताइन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अभिनेत्री कर्णमाथिको अपमान मधेशमाथिको अपमान भएको र उक्त घटनामा संलग्न भनिएका सबैप्रति छानविनको माग गरिन् ।

‘मधेशी लगायत पिछडिएको समुदायले कहिलेसम्म विभेदको पीडा भोग्ने’ उनले भनिन्, ‘यो अपमानजनक व्यवहारको असहनीय पीडाको कारण आँसुका थोपाहरू आत्मदाहको कारण नबनोस् ।’

अभिनेत्री कर्णले नेपाली, मैथली र भोजपुरीसहित दर्जनौ म्युजिक भिडियो लगायत चलचित्रमा अभिनय गरिसकेको भन्दै उनले चलचित्रको सेटमा गरिएको व्यवहारप्रति खेद व्यक्त गरिन् ।

अभिनेत्र कर्णसँग फोनमा कुरा भएको जनाउँदै सांसद कर्णले प्रतिनिधि सभा बैठकमा विस्तृत कुरा राखेकी थिइन् ।

प्रतिक्रिया
    ट्याग: