अभिनेत्री कर्णमाथि भएको विभेदको कर्ण कायस्थ महिला समाजद्वारा भर्त्सना

काठमाडौँ । अभिनेत्री काजल कर्णमाथि भएको जातीय अपमान र विभेदविरुद्ध कर्ण कायस्थ महिला समाजलेलकडा भर्त्सना गरेको छ ।
समाजले मङ्गलवार विज्ञप्ति जारी गर्दै ३ सय ५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली गीत तथा चलचित्रमा काम गरिसकेकी अभिनेत्री कर्णले चलचित्र छायाङ्कनको क्रममा आफूमाथि भएको विभेद र अपमानबारे सामाजिक सञ्जालमा साझा गरेको घटनाबारे छानबिन गरी न्यायको माग गरेको छ ।
समाजकी अध्यक्ष पुनम दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो सामान्य विवाद होइन । एकजना महिलालाई क्षेत्रीय पहिचानका आधारमा गाली गर्नु, उनको अनुहार बिगार्नु र मधेशी भएकै कारण अधिकारबाट वञ्चित गर्नु अक्षम्य अपराध हो । हामी यसको घोर निन्दा गर्दछौँ । फिल्म उद्योगमा यस्तो जातिवादी र क्षेत्रयवादी पूर्वाग्रह अब अन्त्य हुनुपर्छ ।”
निर्माण कम्पनी र फिल्म कलाकार सङ्घबाट पारदर्शी तथा समयबद्ध छानबिन, अभिनेत्री कर्णको बाँकी पारिश्रमिक तत्काल भुक्तानी, दोषीहरूबाट सार्वजनिक रुपमा माफी माग्नुपर्ने, फिल्म उद्योगमा विभेदविरोधी नीति लागू गर्नुपर्ने, अभिनेत्री कर्णको सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, फिल्म विकास बोर्ड र फिल्म कलाकार सङ्घलाई घटनाबारे छानबिन गरी तत्काल कारबाही गर्न समाजले माग गरेको छ ।
चलचित्र चिरञ्जिवी भवःको छायाङ्कनको क्रममा आफूमाथि भएको विभेद र व्यवहारबारे अभिनेत्री कर्णले सामाजिक सञ्जालमा साझा गरेपछि उनको यो विषय अहिले संसदसम्म पुगेको छ ।






