साहित्यिक धरोहरमध्येका एक डा.बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ ।
उपचारका लागि सोमवार राति अस्पताल भर्ना भएका उनको राति नै १२ः४५ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए ।
उनका अनुसार राति ११ः३० बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । त्यसपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
अहिले उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।
सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिएका डा. विमल नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए भने भाषा विज्ञान विषयमा पिएचडी गरेका थिए । बिमल नेपाली, मैथिली, अङ्ग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् ।
उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन् । उनको आजै दिउँसो ३ बजे जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ ।
मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका डा विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।






