छाता इनिसिएटिभ र संकट मोचन युथ नेटवर्कद्वारा नुवाकोटका बाढीपीडितलाई १५ लाख बराबरको राहत

जनकपुरधाम । रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले छाता इनिसिएटिभ र संकट मोचन युथ नेटवर्कले करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री नुवाकोट पठाएको छ।

बिहीबार अबेर राति पाँचवटा गाडीमा राहत सामग्रीसहित चिकित्सक र स्वयंसेवक गरी करिब १५ जनाको टोली नुवाकोटको तार्केश्वर गाउँपालिकातर्फ प्रस्थान गरेको हो। जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, बटेश्वर र महोत्तरीको पिपरा लगायतका स्थानहरुबाट संकलित राहत सामग्रीहरू खाधान्न लत्ताकपडा र अतिआवश्यक औषधी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनसँगको समन्वयमा त्यहाँका बाढीपीडित वितरण गरिने संकट मोचन युथ नेटवर्कका अध्यक्ष अनिश यादवले जानकारी दिए।

नेटवर्कका अध्यक्ष यादवका अनुसार राहत वितरणका लागि तार्केश्वर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय गरिएको छ। “उहाँहरूको समन्वयमा बाढीपीडित तथा आवश्यकतामा रहेका परिवारलाई राहत सामग्री वितरण गरिनेछ,” उनले भने।

राहत अभियानअन्तर्गत ५२ क्विन्टल १७ किलो चामल, ४ क्विन्टल ६१ किलो दाल, ५ क्विन्टल ८५ किलो चिउरा, ३ क्विन्टल ५५ किलो नुन, ३ क्विन्टल ५७ किलो आलु, ७८ किलो मुग, ७५ किलो दालमोट, ३९ लिटर खाने तेल र १क्विन्टल ५ किलो पिठो/आँटा संकलन भएको संकट छाता इनिसिएटिभका अध्यक्ष अमरेन्द्र कुमार यादवले बताए।

त्यस्तै, १११ कार्टुन चाउचाउ, ३३७ कार्टुन खानेपानी, ७७० पिस कपडा, ५० वटा ब्ल्याङ्केट, २ हजार पिस पानी खाने गिलास, २ हजार पिस खाना खाने प्लेट, ५०० पिस प्याड, ८ कार्टुन अति आवश्यक मेडिकल सामग्री तथा औषधि, १५ पिस तोसक, १५ पिस तकिया, १५० पिस ब्रस र १५० पिस टुथपेस्ट लगायतका सामग्री पनि राहतमा समावेश रहेका छन्।

इनिसिएटिभका अध्यक्ष यादवका अनुसार उक्त राहत सामग्री नुवाकोटका पाँच सयभन्दा बढी घरपरिवारलाई वितरण गरिनेछ।

विपद्को कठिन समयमा बाढी प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने र मानवीय सहयोगमार्फत पीडित परिवारलाई साथ दिने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको दुवै संस्थाले जनाएका छन्।

राहत सामग्री संकलन, व्यवस्थापन तथा नुवाकोट प्रस्थानसम्म सहयोग गर्ने व्यक्ति, संस्था, व्यवसायी, स्वयंसेवक तथा सहयोगी मनहरूप्रति दुवै संस्थाले आभार व्यक्त गरेका छन्।

राहत वितरण टाेलीमा युवाहरु विरेन्द्र यादव, रमन कुमार यादव, अनिश यादव, राजेश यादव, सुनिल यादव, मनिष यादव, संजु सिंह, अजय यादव, सिंहेश्वर सहनी लगायत रहेका छन्।

प्रतिक्रिया