कार्यकाल सकिएपनि रामरोशनले उठाउँछन् महिनाको पाँच लाखभन्दा बढी सटर भाडा !

जनकपुरधाम । श्री रामानन्दिय वैष्णव सङ्घका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले महिनाको पाँच लाखभन्दा बढी सटर भाडा उठाउने गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ वैष्णव सङ्घको मातहतमा रहेको तुलसी स्मारकको २० वटा र जानकी मन्दिर परिसरमा रहे पनि छुट्टै अस्तित्व भएको लक्ष्मण मन्दिरको १५ वटा सटरको भाडा समेत गरी उनले महिनाको पाँच लाखभन्दा बढी रकम असुल्ने गरेका छन् ।
३५ वटै सटर महिनाको १५ हजारको दरमा भाडा लगाइएको छ । जसको कुनै हर–हिसाब उनले कसैलाई दिएका छैनन् । वर्षाैदेखि तुलसी स्मारक र लक्ष्मण मन्दिरको सटर भाडामा रामरोशनको एकक्षत्र असुली चलिरहेको छ । वैष्णव सङ्घका एकजना पदाधिकारीले नाम नखुलाउने शर्तमा भने, ‘स्मारकको २० वटा सटर छ । जसको महिनाको ३ लाख रुपैयाँ आम्दनी छ । तर, हामीले देख्ने खर्च भनेको दैनिकी दुई÷चारजना साधुसन्तको भोजन र पूजापाठ लाग्ने खर्च हो । बाँकी कुरा रामरोशन जीलाई नै थाहा छ ।’
वैष्णव सङ्घको विधान अनुसार छनौट पदाधिकारीको कार्याकाल ३ वर्षको हुन्छ । रामरोशन ८ वर्षअघि अध्यक्षमा निर्वाचित भएका थिए । विधान अनुसार अहिलेसम्म नयाँ नेतृत्वका लागि ३ वटा निर्वाचन सम्पन्न हुनुपर्ने थियो । तर, ३ वर्षका लागि निर्वाचित भएका रामरोशन ८ वर्षदेखि नेतृत्वमा छन् । उनले नयाँ निर्वाचनका लागि कुनै पहल नै थालेका छैनन् ।
तुससी स्मारकको आम्दनीमा आफ्नै हालीमुहाली कायम राख्न न उनले सङ्घको अध्यक्षबाट राजीनमा दिएका छन्, न त नयाँ पदाधिकारी छनौटका लागि कुनै पहल नै गरेका छन् ।
वैष्णव सङ्घका एक सदस्यका अनुसार रामरोशनको पाँच वर्षअघि नै कार्याकाल पूरा भइसकेको छ । तर, पनि नयाँ नेतृत्वका लागि कुनै चासो दिइएको छैन । न कुनै सदस्यले चर्चा गर्न आँट गरेका छन् । ‘रामरोशनसँग सबै मठ–मन्दिरका महन्त तथा साधुसन्त डराउँछन्’, ती सदस्यले भने, ‘रामरोशनले पहुँच र शक्तिको आडमा कार्याकाल गुज्रेको ५ वर्ष बितिसक्दा पनि स्मारकको आम्दनीमा एकक्षत्र राज गरिरहेका छन् । उनको असुलीको अगाडी कसैले बोल्न सकिरहेको छैन ।’
रामरोशनले आफ्नो निकटकालाई लक्ष्मण मन्दिरको पुजारीमा नियुक्त गराएर आफ्नो बर्चश्व कायम राखेका छन् । अहिले पनि रोशनकै निकट मानिने सीताशरण दास पुजारी छन् । उनले रोशनकै ईसरामा सबै काम गर्ने गरेका छन् । लक्ष्मण मन्दिर मातहतकै १५ वटा सटर र पोखरीको पैसा समेत रोशनले नै उठाउने गरेको स्रोतको दावी छ ।
गुठीले मन्दिर सञ्चालन तथा व्यवस्थापन र आम्दानीको हरहिसाब राख्नका लागि पुजारी नियुक्त गरेपनि उनको काम पूजापाठमै सिमित राखिएको छ । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासको हस्तक्षेपका कारण लक्ष्मण मन्दिरका पुजारी सीताशरणको काम पुजापाठमै समिति छ ।
स्रोतका अनुसार रामरोशनकै जोडबलमा पाँच वर्ष अघि गुठी संस्थानले सीताशरणलाई पुजारीमा नियूक्ति गरेको थियो । रामरोशनले चाहेकै व्यक्तिलाई लक्ष्मण मन्दिरका पुजारीमा नियुक्त गराउन सफल भएसँगै लक्ष्मण मन्दिरमा उनको प्रभाव बढेको हो ।
लक्ष्मण मन्दिरको मुख्य आम्दानीको स्रोत भनेको मन्दिरसँगै टासिँएको १५ वटा सटर र एउटा पोखरी रहेको छ । १५ हजारको दरले १५ वटै सटर भाडामा लागाइएको छ । त्यसबाट महिनाको २ लाख २५ हजार आम्दानी हुन्छ । तर, मन्दिरमा खर्च भनेको पुजा सामग्री र बिजुली खपत मात्रै हो । विद्युत महशुल समयमा नर्तिदासमेत पटक–पटक प्राधिकरणले लाइन काट्दै आएको छ ।
पुजारीले हालसम्म गुठी संस्थानलाई मन्दिरको आम्दानीबारे कुनै जानकारी गराएका छैनन् । यसरी पुजारीको मनमोजी र गुठीको मौनताले गर्दा छुट्टै महत्व बोकेको लक्ष्मण मन्दिरको अस्तित्वनै संकटमा परेको छ ।
सुरुमा लक्ष्मण मन्दिरका महन्तले हामीसँग भाडा उठाउथे । तर, पछिल्लो समय जानकी मन्दिरका महन्त रोशनले भाडा लिन थालेकोे त्यहीँ सटरमा २५ वर्षदेखि पसल चलाउँदै आएका एक व्यापारीले बताए । ‘उत्सवको समयमा लिइने मोटो रकमको त कुनै हिसाब नै छैन्,’ ती व्यपारीले भने, ‘दश वर्षदेखि रोशन बाबाले नै पैसा उठाइरहेका छन् ।’






