दुधमती पोखरीमा दुधमती आरती सुरु हुँदै, आर्थिक सहयोग गर्न अपिल
'रामायणकालीन धार्मिक–सांस्कृतिक महत्व बोकेको यहाँ असोज १८ गतेदेखि ‘दुधमती सन्ध्या आरती’ सुरु हुँदैछ'

जनकपुरधाम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुधमती नदीको उद्गमस्थलमा अब हरेक साँझ सन्ध्या आरती सुरु हुने भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, दुधमती अर्जनमा टोलस्थित रहेको दुधमती पोखरीमा ‘दुधमती सन्ध्या आरती’ आयोजना हुने भएको हो।
सामाजिक संस्था छाता इनिसिएटिभको अगुवाइमा सञ्चालन हुन लागेको दुधमती सन्ध्या आरती आगामी असोज १८ गते जितियाको दिनदेखि शुभारम्भ गर्ने तयारी रहेको छ। छाता इनिसिएटिभका अध्यक्ष एवं पत्रकार समेत रहेका अमरेन्द्र कुमार यादवका अनुसार दुधमती पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, प्रवद्र्धन र सौन्दर्यीकरणमा समुदायको सहभागिता बढाउने उद्देश्यले आरती सुरु गर्न लागिएको हो।
आरती सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ लागत लाग्ने अध्यक्ष यादवले जानकारी दिएका छन्।
मिथिला सभ्यताको महत्वपूर्ण धरोहरका रूपमा रहेको दुधमती नदीको उद्गमस्थल दुधमती पोखरीसँग माता सीता र कामधेनु गाईसँग सम्बन्धित पौराणिक कथा जोडिएको धार्मिक विश्वास छ। यही धार्मिक आस्था र ऐतिहासिक विरासतका कारण दुधमती पोखरी स्थानीय मात्र नभई मिथिला क्षेत्रकै महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ।
तर समयसँगै यसको प्राचीन गरिमा र महत्व ओझेलमा पर्दै गएको छ। पोखरीको संरक्षण, धार्मिक वातावरणको विकास तथा यससँग जोडिएको ऐतिहासिक एवं सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक देखिएपछि छाता इनिसिएटिभले सन्ध्या आरतीको अवधारणा अघि सारेको हो।
छाता इनिसिएटिभका अध्यक्ष यादवका अनुसार दुधमती पोखरीलाई केवल जलस्रोतका रूपमा नभई मिथिला सभ्यता, संस्कृति, आस्था र पहिचानको प्रतीकका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।
“दुधमती पोखरी हाम्रा पुर्खाले हामीलाई सुम्पिएको पवित्र धरोहर हो। यसको संरक्षण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी मात्र होइन, भावी पुस्ताप्रतिको दायित्व पनि हो,” यादवले भने।
उनका अनुसार सन्ध्या आरती कुनै एक संस्था वा समूहको मात्र अभियान नभई मिथिला–मधेशवासी, स्थानीय समुदाय, धार्मिक तथा संस्कृतिप्रेमी र सम्पदाप्रेमी सबैको साझा अभियानका रूपमा अघि बढाइनेछ।
आरतीसँगै दुधमती पोखरीको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा धार्मिक गतिविधि बढेसँगै पोखरी क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावनासमेत रहेको छ।
स्वेच्छिक आर्थिक सहयोगका लागि आह्वान

दुधमती सन्ध्या आरती सञ्चालन तथा पोखरीको संरक्षण अभियानका लागि छाता इनिसिएटिभले सर्वसाधारण तथा शुभेच्छुकसँग स्वेच्छिक आर्थिक सहयोगको आह्वान गरेको छ।
आयोजक संस्थाका अनुसार इच्छुक सहयोगदाताले संस्थाले सार्वजनिक गरेको बैंक तथा डिजिटल भुक्तानी विवरणमार्फत सहयोग गर्न सक्नेछन्। सहयोग रकम पठाइसकेपछि भौचर वा कारोबारको प्रमाण संस्थाको आधिकारिक सम्पर्क माध्यममा पठाउन आग्रह गरिएको छ।
आरती सञ्चालन भएपछि सहयोगी दाताहरूको नामावली संस्थाको आधिकारिक वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ। साथै, आफ्नो नाम सार्वजनिक गर्ने वा नगर्ने विषयमा सहयोगदाताले संस्थालाई जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।
छाता इनिसिएटिभले “एउटा सानो योगदान, सभ्यता जोगाउने महाअभियान” भन्ने अभियानको भावनासहित दुधमती पोखरीको संरक्षणमा सबैलाई जोडिन आह्वान गरेको छ।
असोज १८ गतेदेखि सुरु हुने दुधमती सन्ध्या आरतीले दुधमती पोखरीमा धार्मिक आस्थाको नयाँ अध्याय सुरु गर्नुका साथै मिथिलाको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ बहस र अभियानलाई गति दिने अपेक्षा गरिएको छ।






