दार्चुलाको लास्कु खोलामा बाढी : ११ घर बगाएसंगै चार जना बेपत्ता

दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीमा परी ४ जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगाको बाङ्गाबगड क्षेत्रमा ११ वटा घर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले एक झोलुङ्गे पुल र एक पक्की पुल पनि बगाएको छ । लास्कु खोलामा निमार्णाधिन पक्की पुल बगाएसंगै लास्कु गाँउसंगको सडक सम्पर्क अवरुद्द छ ।
त्यहाँ पहिला झोलुङ्गे पुल थियो, त्यसैको ठाउँमा पक्की पुल बनिरहेको एक स्थानीयले जानकारी दिएका थिए ।‘त्यही पुल बगाएको होु, प्रहरी निरीक्षक जगत गाहा मगरले नागरिक मिररसँग भने ।
खोलाको बीचमा फसेका केही मानिसलाई अहिले सुरक्षाकर्मीले उद्धारको कार्य बढाएको छ । प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । ‘अझै केही घर बाढीको जोखिममा छन्’, मगरले भने, ‘जोखिममा परेका सबैलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छौँ ।’
बाढीले गरेको क्षतिको पूर्ण विवरण आउन भने अझै बाँकी छ ।






